CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • एनआरएनको आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु

    काठमाडौं : नेपाल बाहिर रहेका नेपालीहरुको साझा संगठन गैर आवासिय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन शनिबारबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजित विशेष समारोहमा सम्मेलनको उद्‍घाटन गरिन् ।
    ‘देशको प्रतिष्ठा बढाउन सकेमात्रै एनआरएनको प्रतिष्ठा रहन्छ, हामीलाई अहिले एनअनरएनको लगानीका साथै सीप र पूँजीको आवश्यकता छ, त्यसका लागि अहिले उपयुक्त समय हो’ उद्‍घाटन समारोहमा राष्ट्रपति भण्डारीले भनिन् ।
    कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, एनआरएनका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायत विशिष्ट अतिथीहरुको उपस्थिति थियो ।
    उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महराले विश्वमा छरिएर रहेका नेपालीप्रति सरकारको ठूलो विश्वास रहेको बताए । उनले देशमा एनआरएनको लगानीको आवश्यकता रहेको र लगानीका लागि उपयुक्त समय आएको बताए । ‘देश राजनीतिक स्थिरता तर्फ गएको छ, अहिले एनआरएनको ज्ञान, सीप र पूँजीको थप महत्व छ’ महराले भने ।

    नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले एनआरएनले आर्जन गरेको ज्ञान र सीपको उपयोग गरेर देशलाई सबल बनाउनुपर्ने बताइन् । नेपालका ४०.२ प्रतिशत युवालाई परिचालन गर्न सबै तर्फको लगानी आवश्यक पर्ने राणाले बताइन् । ‘अहिले पनि एनआरएनको ३० अर्ब भन्दा बढीको लगानी रहेको बताइएको छ, यो सकरात्मक हो । अबको समय लगानीको समय हो, हामी सँगै अघि बढौं’ उनले भनिन् ।
    एनआरएन अध्यक्ष शेष घलेले देश समृद्ध हुँदामात्रै एनआरएनहरु सन्तुष्ट हुनसक्ने बताए । ‘अहिले पनि हाम्रो भिसालाई एयरपोर्टमा कसरी हेरिन्छ हामी सबैलाई थाहा छ, देश समृद्ध नहुँदाको पीडा हामी सबैलाई महसुस भएकै छ’ उनले भने ‘हामी देश समृद्ध बनाउन चाहन्छौं, समृद्ध हुँदा सन्तुष्ट हुनेछौं ।’ उनले पर्यटन, उर्जा, बैकिङ लगायतका क्षेत्रमा अर्बौं लगानी आएको र आउने क्रममा रहेको बताए । 
एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले लगानीको लागि अब पर्खने समय नरहेको बताए । उनले एनआरएनको जन्म नै देशको शान्ति र समृद्धिमा योगदान गर्नका लागि भएको बताए ।
    को- को चयन हुनेछन् ?
    सम्मेलनबाट अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ९ पदाधिकारी तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु चयन हुनेछन् । एनआरएनका सदस्यता रहेको ७८ देशबाट एक जना समन्वय परिषदको सदस्य निर्वाचित हुनेछन् । त्यस्तै विभिन्न महादेशको संयोजक र उपसंयोजक पनि चयन हुनेछन् । नयाँ नेतृत्व चयनका लागि झण्डै २८ सय जनाले मतदान गर्नेछन् । हाल एनआरएनको सदस्यता ६५ हजार जनाले लिएका छन् ।

    अध्यक्ष पदका लागि जापानमा बसोबास गर्ने भवन भट्ट, अष्ट्रेलिया बसोबास गर्ने जमुना गुरुङ घले र कतारका टीबी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
    भवन भट्ट वर्तमान उपाध्यक्ष हुन् भने शेष घलेकी पत्नी जमुना घले आईसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद्) सदस्य हुन् । अध्यक्षका अर्का प्रत्यासी टिबी कार्की अघिल्लो कार्यसमितिका उपाध्यक्ष हुन् ।