
४ डिसेम्वर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
क्यानाडाको क्यालगरीबासी नेपालीहरुले लिम्वुहरुको प्रमुख पर्व चासोक तङ्गनाम विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन । हरेक बर्ष झै यो बर्ष लिम्वु जातिहरुका कला संस्कृति झल्किने विभिन्न कार्यक्रमहरु गरि उक्त पर्व मनाइएको हो ।
नेपालको पुर्वी पहाडमामा बस्ने लिम्वुजातिहरुको प्रतिनिधि संस्था किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आफनो भाषा, कला, धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्यले आफना मौलिक चाडपर्वहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

क्यालगरीको साउथवेस्ट स्थित ग्लेनमोर कम्युनिटी हलमा आयोजना गरिएको उक्त कार्यक्रममा चासोक तङ्गनाम पर्वको बारेमा संक्षिप्त जानकारी दिदै संस्थाका सल्लाहकार विजय लिम्वुले आफनो मौलिक कला, संस्कृति आफनो पहिचान भएकोले नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।
अनिकाल नलगोस भन्ने कामना सहित मंशीर महिनामा अन्नबाली भित्रयाउनु अघि प्रकृति (भुमि) पुजा गर्दै चासोक तङ्गनाम मनाइने प्रचलन रहेको संस्थाका अध्यक्ष राजेन्द्र लिम्वुले बताए ।

जातिगत मौलिक पोशाक तथा गरगहना, दैनिक उपभोग्य सामान, लिम्वु जातिले उत्पादन गर्ने अन्नवाली लगायत प्रदर्शन गरिएको कार्यक्रमा २ सय बढीको उपश्थिती रहेको थियो । कार्यक्रममा लिम्वुहरुका माझ प्रसिद्ध किनिमा (भटमासलाई कुटेर बनाईएको, याङ्गवेन (झयाउलाई खरानीमा उसिनेर बनाएको सुङ्गगुरको मासु), गुन्द्रुक भट्मासको अचार, फिलिङ्गेको अचार लगायतका खानाका परिकार उपलव्ध गराईको थियो ।

कार्यक्रममा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राई, क्यालगरी नेप्लिज कम्युनिटी एशोशियसनका अध्यक्ष हरिवोल शर्मा, एनआरएन क्यानाडाका प्रतिनिधि दिनेश घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै संस्थाका नव आगन्तु सदस्यहरुलाई स्वागत तथा हाई स्कुल ग्राजुएट द्धयलाई सम्मान गरिएको कार्यक्रम विश्वराज लिम्वुले सञ्चालन गरेका थिए ।