CanadaKhabar.com

Friday, May 10, 2024 -
  • वैवाहिक समारोहमा किन रोए ह्यारी ?

    लण्डन– बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरे। विहे गर्दा उनी खुसी हुनुपर्ने हो, तर केही भावुक देखिए।

    राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजित वैवाहिक समारोहमा ह्यारीले भावुक हुँदै आँशु खसालेका थिए।

    दक्षिण एसियाका देशमा प्राय विहेमा विदाईको बेला दुलही भावुक हुँदै रुन्छिन्। तर, बेलायतको शाही विहेमा भने राजकुमार ह्यारी रोएका हुन्।

    दुलाहा बनेका ह्यारीले रुँदै आँशु पुछेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। धेरैले उनी रोएको देखेर सहानुभुती व्यक्त गरिरहेका छन्।

    खासमा राजकुमार ह्यारी आफ्नी आमा राजकुमारी डायनालाई सम्झेर भावुक भएका थिए। आमाकै सम्झनामा उनले वैवाहिक समारोहमा आँशु खसालेका थिए। ह्यारीकी आमा डायनाको उनी १२ वर्षको छँदा कार दुर्घटनामा निधन भएको थियो। यद्यपी आमाको याद आएर भावुक भएका ह्यारीले आफूलाई सम्हालेर विहे पूरा गरेका थिए।

    विहेअघि उनले एक अन्तर्वार्तामा २० वर्षदेखि आफ्नो भावना दबाएर राख्नुपरेको बताएका थिए।

    उनको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए।

    विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकापसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गरेपछि परम्पराअनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उनीहरू श्रीमान् र श्रीमती भएको घोषणा गरेका थिए।