CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • समाचार लेखिएकै निहुंमा कुटिए अमेरिकामा पत्रकार

    घटना मिलाउनुपर्ने भन्दै दबाब
    काठमाडौँ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणलाई लिएर समाचार लेख्दा पत्रकार लोकमणि राईमाथि कुटपिट भएको छ । अमेरिकाको न्यूयोर्कस्थित क्वीन्सको उडसाइडमा पत्रकार लोकमणि राईमाथि त्यहाँको समयअनुसार गएराति कुटपिट भएको हो ।

    पत्रकार राईमाथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै अमेरिकाका पुगेका उनका निकट सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले कुटपिट गरेका हुन् ।

    ‘उडसाइडमा तिहारको कार्यक्रममा मलाई पनि निम्ता भएकाले त्यहाँ पुगेको थिएँ, कार्यक्रममा केही समय बसेर बाहिर निस्केको समयमा मुख्यमन्त्रीको त्यस्तो समाचार किन लेखेको भन्दै ममाथि कुटपिट भयो’, राईले अन्नपूर्णसँग भने, ‘उमेश राईले मेरो अनुहारमा मुक्का बर्साएपछि तत्कालै मलाई एम्बुलेन्सले स्थानीय अस्पतालमा लगेर भर्ना गर्यो, ६ घण्टा अस्पताल बसेपछि डिस्चार्ज भएको छु ।

    पत्रकार राईमाथि कुटपिट भएपछि घटनास्थलमा तत्कालै प्रहरी पुगेको थियो । प्रहरीले अस्पतालमा पत्रकार राईसँग भेटेर प्रहरीले दोषीलाई कारबाही गर्ने बताएका छन् । ‘विश्वमै सबैभन्दा राम्रो अभिव्यक्ति स्वतन्त्रता भएको देशमा ममाथि समाचार लेखकै आधारमा कुटपिट भएको छ, अब कानुनी लडाइँमा जाने तयारीमा छु ।’

    आफूमाथि भएको कुटपिटको घटना सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि मिल्नुपर्ने दबाब आउन थालेको जानकारी उनले दिएका छन् ।

    अमेरिकामा पत्रकारमाथिको आक्रमणलाई अत्यन्तै गम्भीररुपमा लिइन्छ । पत्रकार राईमाथि भएको यो कुटपिटको घटनामा संलग्नमाथि अमेरिकाबाट डिर्पोट गर्न सक्ने समेत कानुनी व्यवस्था त्यहाँ छ ।
    आजको अन्नपूर्णमा उल्लेख छ ।