CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • भारतीय सेनाको कमाण्डो र बुलेटप्रुफ गाडी जनकपुरमा

    सीता-राम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । यसका लागि पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिएको छ । महोत्सवमा आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर आउने भएका हुन् ।

    आदित्यनाथ बुधबार आउनुअघि नै भारतबाट बिशेष कमाण्डो टोलीसहित बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक नेटवर्क जामर सहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि भित्र्याइएको छ ।

    सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डिआईजी पालले जानकारी गराएका छन् । भारतीय दूतावासका डिसिएम डा. अजय कुमारका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् ।

    त्यहाँबाट उनी सोझै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ । पूजा सकिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ओजना गरेको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने छन् । दिवाभोज सकिएपछि उनी बाह्रबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।

    विवाह पञ्चमीमा लाखौंको संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ ।

    आरसीएस प्रविधि अहिले नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरुमध्येकै एक हो । यसमा उपयोग गरिने भिडियो सेटले क्यामराको माध्यमबाट सुरक्षा अवस्थाको गतिविधिबारे कन्ट्रोल रुमसम्म जानकारी पुर्याउँछ ।

    सोमबार बाह्रबिघा रंगभूमि मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुुईवटा ड्रोेन क्यामराको परिक्षण गरी त्यसको माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको थियो । यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिएका छन् ।

    सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबार देखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।

    सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् । महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् ।

    सवारी साधनको चाप बढेपछि मंगलबारदेखि नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइने भएको छ । नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने तयारी गरिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी गराएकी छन् ।