बिहेको निमन्त्रणा मान्न पुगेका तीन जनाको बिहे भोज खाएर सुतेको अवस्थामा मृत्यु भएको छ । मुसिकोट नगरपालिका–१२, जुम्लावाङका अम्मर विकको छोराको बिहेमा सहभागी भएर भोज र रक्सी खाएर सुतेका तीन जनाको आइतबार राती मृत्यु भएको हो ।
सानी भेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहेको भोजसहित मदिरा सेवन गरेर बिहे भएकै घरमा सुतेका उनीहरू सोमबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताएका छन् ।
‘घटनाबारे जानकारी आएलगत्तै डाक्टरको टोलीसहित म घटना स्थल पुगेको छु,’ डिएसपी खड्काले टेलिफोनमा भने, ‘मृतकहरूले बिहे घरमा व्यवस्था गरिएको भन्दा छुट्टै रक्सी सेवन गरेको पाइएको छ ।’
सोमबार बिहानै वडा अध्यक्ष प्रेम ओलीले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । एउटै कोठामा सुतेका पाँच मध्ये तीन जनाको मृत्यु भएको हो । ती तीन जनाले सेवन गरेको रक्सी र अरू दुई जनाले सेवन गरेको रक्सी फरक फरक पाइएको पनि डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।