CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • निर्मलाको हत्या आरोपी दुईको डिएनए नेगेटिभ

    निर्मला हत्या प्रकरणमा प्रहरीले अभियुक्त ठहर्याएका प्रदिप रावल र विशाल चौधरी पनि निर्दोष रहेको प्रमाणीत भएको छ । प्रहरीसँगको बयानमा उनीहरुले बलात्कार र हत्या स्विकार गरेको भनिएकोमा शंकास्पद मानिएका रावल र चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएपछी उनीहरु निर्दोष सावित भएका छन् ।

    डिएनए रिपोर्टको नतिजा औपचारीक रुपमा सार्बजनिक नगरेको भए पनि रावल र चौधरी दुबैको डिएनए रिपोर्ट निर्मला पन्तको भजाइनल स्वावसँग मेल नखाएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    यद्यपी प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।

    यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले सुचना चुहाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गरेका छन् । डिएनए रिपोर्ट कञ्चनपुर आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीहरुको रोहवरमा खोलिने उनले बताएका छन् ।

    स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको भए पनि नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए ।

    त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टमा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो । तर, दुवै ल्याबमा परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    योसँगै निर्मला प्रकरणमा अभियुक्तको रुपमा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा रहेका प्रदिप रावल र विशाल चौधरी छुट्न सक्ने भएका छन् । उनीहरुलाई हाल प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेर राखिएको छ ।