CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • कर्णालीको सकस, जनप्रतिनिधि पनि तुइनकै भरमा

    तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।

    गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि ! आङ सिरिङग हुन्छ,’ रोकायाले भने । दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए ।

    बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने ।

    कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन् । तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ ।

    गाउँपालिका अध्यक्ष कर्ण रावलले तीन वडाका बासिन्दाको गुनासो आफूले पनि दैनिक सुन्दै आएको बताए । आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको अध्यक्ष रावलले बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ उनले भने । यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनले बताए ।

    हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल तुइनमा (दायाँ) झुन्डिएर कार्यालय जाँदै

    कर्णालीको पूर्वतिर खार्पुनाथ गाउँपालिका कार्यालय छ । मेरो घर खार्पुनाथ–४ मा पर्छ, यो कर्णाली पश्चिममा पर्छ । कर्णालीमा पुल छैन । नदीमा हिँडेर तर्न सकिँदैन । म पनि तुइन नै चढ्छु । यहाँका तीन वडाका बासिन्दा तुइनमै आवतजावत गर्छन् ।

    बिहान गाउँपालिका कार्यालय जाँदा तुइनमै कर्णाली तर्छु । साँझ तुइनमै फर्किन्छु । वर्षौँदेखि तुइनकै भरमा यताउता गरेकाले बानी परिसक्यो । तैपनि तुइन तर्दा डर त लागिहाल्छ नि ! रातसाँझ यताउता गर्न गाह्रो हुन्छ । अँध्यारो नहुँदै घर फर्किसक्नुपर्छ । ढिलो हुँदा घरपरिवार पनि चिन्ता गरिहाल्छन् ।

    गाउँपालिका अध्यक्ष भएकाले पुल बनाउन सबैले मलाई नै भन्छन् । हाम्रो बजेटले भ्याउँदैन । मन्त्रालय, सांसद सबैलाई मैले पनि गुहारिसकेको छु । राष्ट्रिय–अन्तराष्ट्रिय गैरसरकारी संस्थालाई गुहारेको छु । भर्खरै हेल्भेटास नेपालसँग कुराकानी गरेको छु । आश्वासन दिएका छन्, अहिल्यै पुल बन्छ भन्न सक्दिनँ ।

    खार्पुनाथ गाउँपालिका मात्रै होइन, सर्केगाड गाउँपालिका–१ को तुम्चका बासिन्दा पनि तुइनकै भरमा कर्णाली वारपार गर्दै आएका छन् । तुम्चका बासिन्दा दैनिक उपभोग्य वस्तुका लागि मुगु पुग्छन् । त्यहाँ पनि तुइनमै आवतजावत गर्दै आएको स्थानीय बासिन्दा मंग मल्लले बताए ।

    डोरीमा आवतजावत गर्न डर लाग्ने भएकाले काठको फल्याक राखिएको उनले बताए । ‘त्यही फल्याकमा ओहोरदोहोर गर्छौँ,’ उनले भने । पुल निर्माणका लागि गाउँपालिकालाई गुहारे पनि वास्ता नगरेको उनको गुनासो छ ।

    हुम्ला क्षेत्रमा बग्ने कर्णालीमा ६ ठाउँमा तुइन छन् । हिल्सादेखि कवाडीसम्म करिब दुई किलोमिटरमा कतै पुल नभएको थार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । जसले गर्दा स्थानीय बासिन्दा तुइनकै भरमा ओहोरदोहोर गर्दै आएका छन् ।