CanadaKhabar.com

Monday, May 13, 2024 -
  • बृद्धभत्ता बाँड्ने मनमोहन, ढुकुटी जम्मा गर्ने गिरिजा

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बहुदल प्राप्तिसँगै १२ अर्बको राज्यको ढुकुटीबाट तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले तीन गुणा भन्दा बढी ३६ अर्ब रुपैयाँ सञ्चित गरेकाले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले वृद्धभत्तासहित ‘आफनो गाउँ आफै बनाऊँ’ कार्यक्रम सुरु गरेको खुलासा गरेका छन् ।

    आईतबार चापाकोट उद्योग वाणिज्य संघ, स्याङ्जाद्वारा आयोजित प्रथम चापाकोट महोत्सवको समापन गर्दै नेता थापाले यस्तो बताएका हुन् । नेता थापाले तत्कालीन ९ महिने सरकार जत्तिको पनि काम गर्न नसक्ने ईतिहासकै बलियो भनाउँदो सरकारको आलोचना गर्दै यस्तो बताएका हुन ।

    थापाले इतिहासकै बलियो केपी ओली नेतृत्वको सरकार बरालिएको बताएका छन् । बलियो सरकारले युवालाई आफ्नै मुलुकमै रोजगार सिर्जना गरी समृद्ध नेपाल बनाउनतर्फ लाग्नुपर्नेमा उनले जोड दिएका थिए । उनले ओली नेतृत्वको बलियो सरकार बरालिँदा मुलुकले गति लिन नसकेको बताए ।

    उनले भनेका छन्–‘कमजोर सरकार बरालिँदा खासै प्रभाव पार्दैन । बलियो सरकार बरालिँदा विकास लगायतका नीतिगत निर्माण कार्य जनस्तरसम्म प्रभावित हुन्छ । दुईतिहाइको बहुमत छ, तपाईँको सरकारलाई कसैले हल्लाउन सक्दैन । प्रतिपक्षको अवरोध कतै छैन । यति राम्रो वातावरण पाउँदा पनि काम गर्न नसक्नु तपाईंको असक्षमता हो ।’

    पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने ‘पूर्वराजा ज्ञानेन्द्र शाहप्रति निर्धक्क भएर बोल्दा पनि केही प्रतिक्रिया आउँदैनथ्यो । तर अहिले भए गरेका कुरा संसदमा उठाउँदा प्रधानमन्त्री ओली र नेकपाका नेता प्रचण्डलाई असह्रय हुन्छ । सकारात्मक आलोचना सुन्न चाहाँदैनन् ।’

    प्रचण्डलाई गाली गरेको अभियोगमा कांग्रेस कार्यकर्ता पक्राउ परेको सन्दर्भमा उनले यसो भनेको अनुमान गर्न सकिन्छ । सरकार अभिभावक बन्नु पर्ने बताउँदै उनले शान्ति सुरक्षा कायम गर्दै बढ्दो हत्या, हिंसा बलात्कार नियन्त्रण गर्न र जनअपेक्षा अनुरुप विकास गर्न सरकारलाई आग्रह गरे ।

    समापन कार्यक्रममा गण्डकी प्रदेश सदस्य भागवतप्रकाश मल्ल, चापाकोट नगरप्रमुख शिवकुमार गिरी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, सचिवालय सदस्य रामु बस्याल, चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनाल लगायतले महोत्सवले स्थानीय उत्पादनको बजारीकरण लगायतका पक्षमा सहयोग गर्नेमा जोड दिएका थिए ।