CanadaKhabar.com

Friday, May 3, 2024 -
  • सडक किनारामा बुढाबुढीले मकै पोलेरै घर बन्यो

    सानै व्यवसाय किन नहोस् निरन्तर सङ्घर्ष गरे सफल भइन्छ भन्ने उदाहरण भरतपुर चितवनका एक दम्पतीले देखाएका छन् । सडक किनारमा मकै पोलेर यी दम्पतीले भरतपुरमा घर ठड्याएका छन् ।

    भरतपुर महानगरपालिका वडा नं १२ वसन्त चोकमा लक्ष्मी बुढाथोकी र उनका श्रीमान् लक्ष्मण बुढाथोकीले मकै पोलेर घर बनाएका हुन् । भरतपुर अस्पतालको चोकमा मकै पोल्दै गरेकी बुढाथोकीले भनिन्–“हामीले यो व्यवसाय गरेको १९ वर्ष भयो ।”

    लक्ष्मीले सुरुवातीदेखि नै त्यही चोकमा मकै पोल्दै आएकी छिन् भने श्रीमान् लक्ष्मणले पहिले ठेलामा मकै पोल्ने गरे पनि अहिले बालमन्दिर नजिकै चोकमा मकै पोल्दै आएका छन् । यही कमाइले यो दम्पतीले तीन सन्तान हुर्काएका छन् ।

    जेठी छोरीको विवाह भइसक्यो भने एक छोरा र कान्छी छोरी कक्षा ११ मा पढ्दै छिन् । परिवारको पालनपोषण, पढाइ, विवाह दानसँगै जग्गा खरीद गरेर घर बनाउन उनीहरु सफल भएका हुन् ।

    उनीहरुले जिल्लाको टाँडी, शुक्रनगर र गैँडाकोटबाट मकै ल्याएर श्रीमान् श्रीमती नै मकै पोलेर बेच्दै आएका छन् । पहिला ठेलामा मकै बेच्दा केही राम्रो भए पनि अहिले एक ठाउँमा मात्र बसेर मकै बेच्दा पहिलाको जस्तो कमाइ हुन नसकेको लक्ष्मीले बताईन् ।

    आफूले विवाह गर्दा श्रीमानले रिक्सा चलाउने गरेको भए पनि पछि दुवै जनाले मकै बेचेर बस्न थालेको उनले बताईन् । चितवन माइत र नुवाकोट घर भएकी बुढाथोकी विवाहपछि घर नगई चितवनमै बसेर काम गर्न थालेको बताईन् ।

    श्रीमान्को रिक्सामा कमाइ कम हुँदै गएपछि आफूले मकै पोल्न थालेको र पछि श्रीमानले पनि मकै पोल्न थालेको उनको भनाइ छ । जाडोको समयमा १५० घोगासम्म मकै बिक्री हुुने गरेको बताउने बुढाथोकी गर्मी समयमा भने ५० घोगा पनि बिक्न कठिन हुने बताउँछिन ।

    अहिले दैनिक एक जनाको आम्दानी रु. दुई हजार हाराहारी हुने गरेको लक्ष्मीले बताईन । उनले भनिन्–“बिहान जाडोमा गएर मकै ल्याउनुपर्छ, दुःख छ दुःख भएर के गर्ने काम गर्नै प¥यो ।’

    अहिले स्थानीय सरकारले सडकमा मकै पोलेर बेच्न नदिँदा व्यवसाय धरासायी बन्दै गएको उनको गुनासो छ । विदेशमा गएर सङ्घर्ष गर्नुभन्दा जति दुःख भए पनि आफ्नै देशमा काम गर्दा आनन्द आउने उनले बताईन् । उनले भनिन्–“आफ्नो देशमा मेहनत ग¥यो भने सफल भइन्छ ।”