CanadaKhabar.com

Monday, May 13, 2024 -
  • बढ्यो पुर्वराजाको सक्रियता, राजतन्त्र पुर्नस्थापनाको तयारी

    पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गरेका छन् ।

    पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आएका पूर्वराजाले अध्यक्ष थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिएको बताइएको छ ।

    गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो । त्यसलगत्तै ज्ञानेन्द्रले पूर्वमन्त्री जगत गौचन, कमला शर्मा, दुर्गा श्रेष्ठ लगायत एक दर्जनभन्दा राप्रपाका नेतासँग भेट गरेका थिए ।

    भेटमा अधिकांश नेताले पूर्वराजालाई सक्रिय हुन सल्लाह दिएको बताइएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै यही पुस २ गते पोखरा पुगेका ज्ञानेन्द्रले हिजो आइतबार पश्चिमाञ्चल क्षेत्रका २१ जना स्थानीय नेतासँग सामूहिक भेट गरेका थिए ।

    भेटमा सबैले देशमा राजतन्त्र र हिन्दू राज्य ल्याउन आन्दोलन गर्नुपर्ने विकल्प नभएको सुझाव पूर्वराजा ज्ञानेन्द्रलाई दिएका थिए । आफ्ना परिवारका लागि भन्दै करिब २४ वटा कोठा बुक गरेका पूर्वराजाले होटलमै सबैसँग भेटघाट गर्दै आएका छन् ।

    केही दिनका लागि सो होटलमा नेपाली पाहुना नराख्न पूर्वराजाले आग्रह गरेपछि होटल प्रशासनले विदेशी पाहुनालाई मात्र होटलमा राखेको छ । अहिले ज्ञानेन्द्र, कोमल, निजी सचिव सागर तिमल्सिना, निजी सुरक्षा गार्ड, केही सहयोगी र निजी चालक सूदन थापा मात्रै होटलमा बस्दै आएका छन् ।

    पूर्वराजा ज्ञानेन्द्रले सागर तिमल्सिनामार्फत विभिन्न तहका नेतालाई होटलमै बोलाएर भेटघाट गर्ने गरेका छन् । बल्ल भेटघाट सुरू भएको र यो क्रम केही दिनसम्म चल्ने बताइएको छ । सो होटलमा देशैभरका विभिन्न तहका राजावादीलाई क्रमैसँग बोलाएर भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    ज्ञानेन्द्रलाई भेट गर्न युवा विश्व हिन्दू महासंघका अध्यक्ष राजन महर्जनसहितको टोली आज सोमबार पोखरा जाने कार्यक्रम तय भएको छ । महर्जनका अनुसार हिन्दू राज्य र राजतन्त्रको विषयमा छलफल गर्न थप कार्यक्रम सञ्चालन गर्ने विषयमा पूर्वराजालाई जानकारी गराउन भेट गर्न लागिएको हो ।

    पछिल्लो समय देशको राजनीतिबारे बढी चासो राख्न थालेका ज्ञानेन्द्रले हिन्दू धर्म स्थापित गराएर राजतन्त्र ल्याउने प्रयास गरिरहेका छन् । कमल थापासँगको भेटमा नेपाली कांग्रेसको सहयोग लिएर हिन्दू धर्मको पक्षमा कार्यक्रम अघि बढाउन आग्रह गरेका पूर्वराजाले त्यसका लागि भित्रीरूपमा आफ्नोसमेत साथ र सहयोग रहने बताएका थिए ।

    हिन्दू धर्मको पक्षमा नेपाली कांग्रेसको महासमिति बैठकमा ७ सय ९ महासमिति सदस्यसहित १ हजार ५ सय ४ जनाले धर्म निरपेक्षताको विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरेका थिए । पूर्वराजासँग निकट रहेका राप्रपा नेपालले फागुन ७ गतेदेखि हिन्दू धर्म र राजतन्त्रको पक्षमा आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

    आन्दोलनकोे मौका छोप्दै पूर्वराजा ज्ञानेन्द्रले आफूसँग भेट भएका सबैलाई हिन्दू धर्मको पक्षमा लबिङ गर्न आग्रह गरेका छन् । नयाँ वर्ष मनाएलगत्तै ज्ञानेन्द्रले विभिन्न तहका नेतासँग भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले दाबी गरेको छ ।

    जनवरी १ का दिन नयाँ वर्ष मनाउन पोखरा पुगेका ज्ञानेन्द्र केही दिन आफन्तसँग रमाइलो गर्ने कार्यक्रम रहेको छ। भोलि १० गतेबाट पारिवारिक जमघट शुरू गर्ने बताइएको छ । बुहारी हिमानी, नातिनीद्वय पूर्णिका, कीर्तिका र नाति हृदयेन्द्र, छोरी प्रेरणा लगायतको टोली मंगलबार पोखरा पुग्ने भएको छ ।

    त्यसपछि ज्ञानेन्द्रका बालसखा प्रभुशमशेर र उनका परिवार, बहिनी, ज्वाइँहरू, धीरेन्द्रकी पुत्रीत्रय पूजा, दिलाशा र सिताष्मा लगायका आफन्त पनि पोखरा पुग्ने कार्यक्रम तय भएको छ ।

    उता ज्ञानेन्द्र पुत्र पारसको जन्मदिन पनि पोखरामै मनाउने तयारी भइरहेको छ । पुस १५ गते पारसको जन्मदिन हो । नयाँ वर्षको २ दिनअघि पारसको जन्मदिन मनाएपछि आफन्त र सपरिवार नयाँ वर्षको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।