CanadaKhabar.com

Monday, May 13, 2024 -
  • हत्या र बलात्कार आरोपमा बम्जनलाई पक्रिने तयारी

    ‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनको गतिविधिबारे जानकारी गराउन गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले बारा, मकवानपुर, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङका प्रमुख जिल्ला अधिकारीलाई उनको गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो ।

    मन्त्रालय स्रोतका अनुसार उनले व्यक्ति बेपत्ता बनाएको समाचार आएपछि चासो व्यक्त गर्दै उनको आश्रम रहेका जिल्लाका प्रजिअलाई गतिविधिबारे जानकारी गराउन निर्देशन दिएको हो । मकवानपुरमा उनीविरुद्ध ३० वर्षीया फूलमाया रुम्बा र ५१ वर्षीय सञ्चलाल वाइबालाई बेपत्ता बनाएको उजुरी परेको छ ।

    बम्जनको आश्रमबाट केही व्यक्ति बेपत्ता भएको तथा केही आनी यौन दुव्र्यवहारमा परेको समाचार आएपछि पीडितका आफन्तले प्रहीमा उजुरी गरेका थिए । सोही आधारमा प्रहरीसमेत उनको खोजीका लागि परिचालन भएको छ ।

    मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले मिडियामा समाचार आएको र बम्जनविरुद्ध प्रहरीमा उजुरीसमेत परेका कारण उनको विषयमा थप कुरा जान्न खोजेको बताएका छन् ।

    सुवेदीले भने–‘लिटिल बुद्ध भनेर प्रचारित छन् । उनका विषयमा केही समाचार बाहिर आएपछि के हो सत्य भनेर बुझ्नु राज्यको दायित्व हो । त्यसकारण सम्बन्धित स्थानबाट जानकारी लिन खोजिरहेका छौं ।’

    प्रहरी प्रधान कार्यालयले पनि उनको खोजी गरिरहेको छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले भनेका छन्–‘पीडितका केही आफन्तले मकवानपुर र बारा जिल्ला प्रहरी कार्यालयमा बम्जनविरुद्ध उजुरी गरेका छन् । प्रहरीमा उजुरी आएपछि हामीले ६ जिल्लाका प्रहरी कार्यालयलाई बम्जन पक्राउ गरी अनुसन्धान गर्न निर्देशन दिइसकेका छौं ।’

    उनका अनुसार समाचारमा आएको विषय र उजुरी आधार मानेर पक्राउ गर्न लागिएको हो । प्रहरी सूचनाअनुसार बम्जन यतिबेला सिन्धुलीको आश्रममा छन् । सुवेदीले भने–‘सिन्धुलीमा रहेको भन्ने हामीलाई सूचना छ । त्यहाँको प्रहरीलाई विशेष निगरानी गर्न भनेका छौं ।’ उनका अनुसार बम्जन भाग्ने नाकामा प्रहरी परिचालन गरिएको छ ।

    एसएसपी सुवेदीले भने–‘उनीविरुद्ध गम्भीर प्रकृतिका उजुरी परेका छन् । बम्जन सामान्य मानिस मात्र होइनन्, उनलाई लिटिल बुद्धका रूपमा समेत प्रचारित गरेका कारण उनीविरुद्ध परेका उजुरीका विषयमा अनुसन्धान जरुरी छ । त्यसकारण पक्राउका लागि प्रधान कार्यालयले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ ।’

    गत भदौमा ललितपुरस्थित एक सामुदायिक रेडियो कार्यालयमा १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गरी बम्जनले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि बम्जनविरुद्ध थप उजुरी परेका समाचार आएका छन् ।

    पीडित परिवारले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै बम्जनको आश्रमबाट बेपत्ता भएकाको खोजी गर्न माग गरेका छन् । नुवाकोट म्यगङ गाउँपालिका–३ देउरालीकी चिनीमाया तामाङ ६ वर्षदेखि बेपत्ता भएको उनकी दिदी गंगामायाले बताइन् ।

    उनले भनेकी छिन्–‘मेरी साहिँली बहिनी बेपत्ता भएको ६ वर्ष भयो । बहिनी मरेको भए लास पाऊँ, बाँचेको भए भेट्न पाऊँ ।’ चिनीमाया तामाङ सुरुमा सिन्धुलीको आश्रममा गएको र २०६९ सालदेखि बेपत्ता भएको उनले बताइन् । बाराको हलखोरियामा आनी बन्न गएकी हेटौंडा–१६ की पासाङ भनिने फूलमाया रुम्बा २०७१ सालदेखि हराएको बताइएको छ ।

    मकवानपुरको पदमपोखरी वनस्पतिका महेन्द्र वाइबाका बुबा पनि बम्जनकै आश्रमबाट बेपत्ता भएको उनका छोरा महेन्द्रको दाबी छ । बम्जनपीडित परिवार सबैले आश्रममा गएका आफन्तलाई बेपत्ता पारेको, अभद्र व्यवहार गरेको, सम्पर्क गर्न नदिएको लगायतका आरोप लगाएका छन् ।

    यसअघि सन् २०१० मा उनी र उनका अनुयायीमाथि १७ जना सर्वसाधारणलाई कुटपिट गरेको आरोप लागेको थियो । सन् २०१२ मा बम्जनले बन्धक बनाएको स्लोभाककी एक महिलालाई दुई महिनापछि प्रहरीले मुक्त गरेको थियो ।

    यसअघि सिन्धुली कुशेश्वर दुम्जा स्थायी घर भई दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलमा गुम्बा चलाएर बसेका गुरु रिम्पोछे छुल्ठिम दोर्जे यान्तान टुल्कु लामा पनि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका थिए । रिम्पोछे छुल्ठिमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । हाल उनी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा जेल सजाय भोगिरहेका छन ।