CanadaKhabar.com

Saturday, April 27, 2024 -
  • नेपाली टोपीमा ठाँटिए क्यालगरीका नेपाली

    १ जनवरी, क्यानाडाखवर, क्यालगरी व्युरो । अन्तराष्ट्रिय स्तरमा नेपालीको पहिचान झल्किने नेपाली टोपीकोे प्रयोग, प्रवद्र्धन र संरक्षणका लागि संसारभरका नेपालीहरुको प्रतिवद्धता आवश्यक रहेको क्यानाडामा आयोजित एक कार्यक्रमले निष्कर्ष निकालेको छ ।

    क्यानाडाको क्यालगरीमा आयोजित छैंटौ अन्तराष्ट्रिय टोपी दिवसको अवसरमा बोल्ने अधिकाँस बक्ताहरुले नेपाली टोपी नेपालीहरुको शान, मान र पहिचान भएको जिकिर गरे ।

    नेपाली पहिचान झल्किने ढाका टोपी, दौरा सुरुवालमा ठाँटिएका ५ दर्जन बढी नेपालीहरुले एउटै आवाजमा गोपाल योञ्जनको गीत “यो मेरो टोपी” गाउँदै क्यालगरीमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रमहरुमा दौरा सुरुवाल र टोपी लगाउने सम्पुर्ण नेपालीहरुलाई आहवान समेत गरेका थिए ।

    बैद्धिक काल देखि नेपाली टोपी लगाउने चलन रहेको इतिहाँस कोट्याउँदै एनआरएन क्यानाडाका उपाध्यक्ष तथा एन आरएनएन अलबर्टा कमिटीका सल्लाहकार माधव दुलालले नेपालीको ऐतिहासिक तथा भौगोलिक गरिमा टोपीले बोकेको बताए ।

    एनसिएससीका पुर्व सचिव विशाल ढुङ्गेलले नेपाली टोपीको महिमा गाउदै तारादेवीको “कालीपारे दाइ कति राम्रो ढाका टोपी शीरैमा गलबन्दी” बोलको गीत गाउँदै गर्दा कार्यक्रम स्थल तालिले गुञ्जियो ।

    नेपाली साहित्य समाज क्यालगरीका अध्यक्ष दिपक ढकाल, सचिव केशव मोहन अधिकारी, कपिल दुलाल र अभिभावक कृण्ण प्रसाद दुलालको टोपी शीर्षकको कविता बाचनले कार्यक्रममा झनै रौनता थपेको थियो ।

    त्यस्तै गुल्मी समाज क्यालगरीका अध्यक्ष तथा एनआरएनका सल्लाहकार राजेन्द्र गौतम र एन आरएन क्यानाडाका पुर्व सल्लाहकार विण्णुदत्त सुव्वाले आफना विधार्थीकालका नेपाली टोपी सम्वन्धि महत्व र किस्साबारे चर्चा गरेका थिए ।
    कार्यक्रम राजेन्द्र प्रसाद प्रसाईको संयोजन तथा सञ्चालनमा सम्पन्न भएको थियो ।