CanadaKhabar.com

Sunday, September 20, 2026 -

जापानका लागी कुनै सम्झौता भएको छैनः सरकार

जापानले नेपाली कामदार लैजाने भन्ने खबर बाहिरिएसंगै मेनपावर व्यवसायीले पैसा असुल्न थालेपछी सरकारले विज्ञप्ती नै निकालेर हालसम्म जापान कामदार पठाउने बिषयमा कुनै पनि सहमति र सरकारी निर्णय नभएको स्पश्ट पारेको छ ।

व्यवसायीहरुले जापानमा रोजगारीका नाममा पत्रिकामा विज्ञापन गर्दै पैसा असुल्न सुरु गरेपछी सरकारले सुचना निकालेरै यसबारे सचेत गराएको हो । जापानले केही समयअघि विदेशी कामदार भित्र्याउने सम्बन्धि नीतिमा नेपाललाई पनि समावेश गरेपछि व्यवसायीहरुले युवाबाट राहदानी र पैसा असुल्न थालेका छन् ।

वैदेशिक रोजगार विभागले भने सूचना प्रकाशित गरी भ्रममा नपर्न सबैलाई सचेत गराएको छ । विभागका निर्देशक भोलानाथ गुरागाईँद्वारा जारी विज्ञप्तिमा जापानमा रोजगारीको हल्लाको पछि नलाग्न सचेत गराइएको हो ।

जापानमा कामदार पठाउने विषयमा कुनै पनि निर्णय नभएको भन्दै विभागले कसैलाई पनि राहदानी तथा पैसा बुझाउने काम नगर्न आग्रह गरेको छ । जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छिट्टै छलफल गरी टुंगो लगाउने पनि विभागले जनाएको छ ।

कामदार जापान पठाउने विषयमा टुंगो नलागेकाले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन सूचना जारी गरिएको निर्देशक गुरागाईँले जानकारी दिएका छन् । हल्लाकै भरमा कसैले राहदानी संकलन तथा पैसा असुलेको पाइए कारवाही गर्ने विभागले चेतावनी दिएको छ ।

यसअघि प्रशिक्षार्थी कामदारका रुपमा जिट्कोअन्तर्गत केही युवा जापान जाने गरेका थिए । जिट्को अन्तर्गत जापान जाने युवा भन्दा ठगिने युवा बढी थिए । जिट्को प्रभावकारी नभएपछि केही महिनाअघि नै बन्द भइसकेको छ ।