CanadaKhabar.com

Monday, May 13, 2024 -
  • इथियोपियन विमान दुर्घटनामा १८ क्यानेडियन, १ नेपाली सहित १५७ को मृत्यु

    थियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जना यात्रुको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

    विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

    इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ । प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन् ।

    विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए । दुर्घटना राजधानीदेखि ६० किलोमिटर दक्षिण पूर्वी क्षेत्र बिसोफ्टु नजिक भएको इथियोपियन एयरलाइन्सले उल्लेख गरेको छ ।