ताप्लेजुङ्गकी चन्दा लिम्बु (नाम परिवर्तन) लाई एकदिन आफ्नो साथीले प्रस्ताव गर्छिन्, ‘एकजना गृह मन्त्रालयको सह–सचिव भेटाउँछु, सरकारी कोटामा क्यानाडा पठाउन सक्ने मान्छे हो !’


क्यानाडा सपनाको उडान भर्दै गरेकी चन्दालाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो त्यसमाथि गृह मन्त्रालयको सह–सचिव भएपछि मेनपावर एजेन्ट र अन्य ठगिने लफडा पनि भएन ।
एक दिनपछि नै आफूलाई गृह मन्त्रालयको सह–सचिव बताउने वीरेन्द्र प्रसाद अधिकारीलाई भेट्छिन् । राजधानीको एक क्याफेमा भेट्न बोलाएका ‘सह–सचिव’ अधिकारी कोट, पाइन्ट, टाई तथा ढाकाटोपीमा सजिएर आउँछन् । उच्च स्तरको गफ दिएर चन्दालाई विश्वासमा पार्छन् ।
पुख्र्यौली घर तनहुँ भई हाल काठमाडौँको कलङ्की बस्दै आएको बताउने अधिकारीले चन्दालाई मासिक ५ लाख ५० हजार कमाई हुने गरी भूकम्प पिडीतको कोटाबाट क्यानाडा पठाइदिने आश्वासन पस्कन्छन् ।

क्यानाडाको सपनाको उडान विपनामा बदलिने भएपछि चन्दा खुसी हुन्छिन् अनि वीरेन्द्र अधिकारीले भने अनुसार १० लाख बुझाउन राजी हुन्छिन् । चन्दा र उनकी साथीसँग अधिकारीले ७ लाख ५० हजारको दरले पैसा लिन्छन् अनि त्यहाँबाट छुट्छन् ।
तर, क्याफेमा दिएको आश्वसन पुरा गर्नुको साटो एकाएक सम्पर्क विहिन भएपछि चन्दा र उनकी साथी गृह मन्त्रालय पुग्छन् । तर, त्यहाँ वीरेन्द्र अधिकारी नामका सह–सचिव नै नभएको तथ्य खुल्छ ।
आफूलाई सह–सचिव बताउँदै वीरेन्द्र प्रसाद अधिकारीको नाममा ठगी गर्ने सत्येन्द्र प्रसाद यादवलाई अहिले प्रहरीले पक्राउ गरेको छ । यादव २०७५ फागुन १४ गते राती साढे १० बजे तारकेश्वर नगपालिका–३ पाँचमानेस्थित तारकेश्वर रिसोर्टबाट पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
रौतहट राजदेवी नगरपालिका–७ स्थायी घर भएका ५१ बर्षिय सत्येन्द्र यादवले तनहुँका वीरेन्द्र प्रसाद अधिकारीको नाममा ‘क्यानाडा पठाइदिन्छु’ भन्दै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफूलाई गृह मन्त्रालयको सह–सचिव बताउने यादवले भुकम्प पिडीतका लागी क्यानाडाबाट नेपाल सरकारलाई विशेष कोटा आएको र आफू पठाउने समितीको सदस्य भएको भन्दै ठगी गर्ने गरेका थिए ।
‘मेरो भागमा ३५ जनाको कोटा छ, तपाइँहरुलाई २० लाख रुपैयाँको दरले क्यानडा पठाउँछु भनेर उनले आश्वस्त पार्ने गरेको खुल्न आएको छ,’ डिएसपी बोगटीले भने, ‘थप अनुसन्धान गरिरहेका छौँ ।’
क्यानाडामा छोरा–छोरी, परिवारका अन्य सदस्य तथा साथीभाई समेत लान पाइन्छ भन्दै यादवले ३० जना व्यक्तिहरुबाट कुल १ करोड ८४ लाख ठगी गरेका थिए ।
प्रतिव्यक्ति ५ लाखदेखि २० लाखसम्म लिने गरेका यादवले ‘मन्त्री र सचिवलाई समेत मिलाउनुपर्छ’ भन्ने गरेको पीडितहरु बताउँछन् ।
यता, गोपाल खत्री (नाम परिवर्तन) लगायतको २४ जनाको समूह सत्येन्द्रको कुरामा विश्वास गर्दै क्यानाडा जान राजी भएका हुन्छन् ।
प्रक्रिया शुरु गर्न ढिला भएको बताउँदै यादवले ‘तपाइँहरुलाई सुटुक्क मिलाएर पठाउन खोजेको हुँ, बैंक खाताबाट रकमको कारोबार गर्नुहुँदैन लिक भयो भने मलाई भ्रष्टाचारको आरोप लाग्छ र तपाइँहरु पनि क्यानडाबाट फिर्ता हुनुपर्छ’ भनेर त्रास र आशा देखाउँछन् ।
अनि जो–जसले जत्ति रकम जुटाएको छ लिएर सामाखुसीस्थित क्वालिटी क्याफेमा आउन आग्रह गर्छन् ।
क्याफेमा सबैजना रकम लिएर पुगेको खबर आएपछि सत्येन्द्र पुगेर भन्छन्, ‘गोलमोल हुल हुज्जत नगर्नु ल्याएको रकम एकजनाले कलेक्सन गरेर मलाई दिनु ।’
लाखौँ रकम झोलाभरी बोकेर आफूलाई सरकारले ‘भिषा लिनको लागी क्यानाडा पठाउन लागेको’ हुनाले केही दिन सम्पर्क नहुने र भिषा लिएर मात्र फर्कने बताउँछन् । तर, त्यसपछि उनी सम्कर्पविहीन बन्छन् । सत्येन्द्र बेपत्ता भएपछी पिडीतहरु महानगरीय प्रहरी परिसर काठमाडौंको ढोका ढकढक्याउन पुग्छन् ।
वीर अस्पतालका अधिकृत ‘ठग’ बनेर उदाएपछि…
‘गृह मन्त्रालयको सह–सचिव हुँ’ भन्दै परिचयपत्र देखाउँदै हिँड्ने सत्येन्द्र वीर अस्पतालका पूर्व कर्मचारी हुन् । वीरको एक्सरे विभागमा कार्यरत रहँदा एक्स–रे पेपरमा घोटाला गरेको खुलेपछि जिल्ला अदालत काठमाडौंले उनलाई ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
आफूलाई पत्रकार समेत बताउँदै हिँड्ने यादवले सुचना विभागबाट समय सारथी राष्ट्रिय साप्ताहिकको नाममा जारी भएको प्रेस प्रतिनिधी प्रमाणपत्र बोकेर हिँड्ने गरेका थिए ।
आफू यादव भएपनि उनले आफ्नो छोराछोरीको नागरिकता जिल्ला प्रशासन कार्यालय रौतहटबाट अधिकारीको नाममा निकालेका छन् । प्रविना र प्रविण अधिकारीको नामबाट उनका छोरा–छोरीले लिएको नागरिकताको सम्बन्धमा समेत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
क्यानाडा जाने चाहना भएपनि पैसा छैन भन्नेहरुलाई उनले भन्थे, ‘यस्तो अवसर फेरी आउँदैन, ऋण गरेर भएपनि जाँदा राम्रो हुन्छ ।’
‘जग्गा धितो राखेर ऋण लिने व्यवस्था मिलाइदिन्छु’ भन्दै एकै पटकमा दिन नसकेपनि ‘जत्ति सकेको दिँदै जानु मन्त्रालयको लिस्टमा राखिदिउँला,’ भन्दै यादवले नेता र पत्रकारले थाहा पाउने गरी क्यानाडा पठाउने कुरा हल्ला नगर्न पीडितहरुलाई आग्रह गर्ने गरेका थिए ।
रातोपाटीका लागि राजेश भण्डारीले रिपोर्ट लेखेका छन्