क्यानाडाखबर डेस्क – टोरोन्टो ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा यतिबेला क्यानडाका विभिन्न शहरहरु पनि तीजमय बनेका छन् ।
विगत केहि साताअघि देखि तीज पर्वलाई लक्षित गरि स्थानिय विभिन्न संघ संस्थाहरुले दर खुवाउने कार्यक्रम आयोजना गर्दै आएका छन् । अहिले ब्राम्टोन , मिसिसागा, स्कारबोरो लगायतका शहरहरुमा पनि स्थानिय संघसंस्थाहरुको पहलमा नेपालीहरुले तीज मनाएका छन् ।

यता सृजनशिल नेपाली समाज क्यानडाले हालै टोरोन्टोमा आयोजना गरेको तीज विशेष कार्यक्रममा स्थानीय सिटी काउन्सिलर र सांसदहरुको साथमा नेपाली महिला दिदि बहिनीहरुले तीज मनाए । बालबालिकाको नृत्य मुख्य आकर्षण रहेको यस कार्यक्रममा महिलाहरुको शिलशिलाबद्ध नृत्यले कार्यक्रमको माहोल झनै रोमाञ्चक बनाएको थियो । कार्यक्रममा एमपीपी डोली बेगन, काउन्सिलर ग्यारि क्रउफोर्ड, ब्राड ब्राडफोर्ड लगायतकाहरुले नेपाली संस्कृति, भेषभुषा र नृत्य छुट्टै शैली र आकर्षक भएको प्रतिक्रिया दिए ।

पछिल्ला दिनहरुमा विशेष गरि बालबालिकालाई केन्द्रित गरेर नेपाली गीतमा नृत्य सिकाउदै आएपछि अहिले हरेक नेपालीहरुको घरमा नेपाली गीतहरु बज्ने गरेको र बालबालिकाहरुले पनि गीत र नृत्यबाटै आफ्नो परम्परा सिक्दै जाने संस्थाका अध्यक्ष शिशिर पाण्डेको भनाइ छ । हरेक पटक कुनै नेता तथा मन्त्रीलाई भेट्न जादा पनि आफ्नो संस्कृतिको बारेमा उनिहरुलाई बताउदै आएको र उनिहरु नेपालीहरुको कार्यक्रममा सहभागी हुन रुचि राखेको अध्यक्ष पाण्डेको दावी छ ।

यसअघि तीजको कार्यक्रमका लागि निम्तो दिन पुगेका पाण्डेले सिमा तथा सुरक्षा सम्बन्धि मन्त्री बिल ब्लेयरलाई शिव पूराण सुनाइदिएका थिए । सत्तीदेवीको अंग पतन देखि पार्वती सम्मको काहानी सुनाउदा मन्त्री ब्लेयर अचम्मित र दंग देखिन्थे । कार्यक्रममा उनि आउने भनिएपनि व्यस्तताका कारण आउन नसकेपछि उनका प्रतिनिधि मार्फत शुभकामना पठाइएको थियो ।
मन्त्री ब्लेयरले तीज पर्वका अवसरमा सम्पूर्ण नेपाली महिलाहरुलाई शुभकामना दिदै नेपाली संस्कृतिले क्यानडेली समाजमा अझ थप र नयां आकर्षण थप्न सक्ने बताएका छन् । कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए क्यानडाका नव निर्वाचित अध्यक्ष चिरञ्जिवी घिमिरेको पनि उपस्थिति रहेको थियो ।
यस संगै टोरोन्टोमा नेप्लिज क्यानेडियन महिला एशोसिएशन, ब्राम्टोनमा नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर र महिला चौतारीले तिजको अबसरमा आफ्नो कार्यक्रम सम्पन्न गरिसकेको छ ।



jghg