CanadaKhabar.com

Monday, May 13, 2024 -
  • एनआरएनए ग्लोवलको महिला संयोजकमा लण्डनकी संचारकर्मी मरहट्टाको उम्मेद्धारी, महिला नेतृत्वका लागि एक अनुभवी पात्र

    क्यानडा खबर डेस्क
    टोरोन्टो, गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा संचारकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
    आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बिबिसी नेपाली सेवाकी पुर्व पत्रकार मरहट्टाले आफ्ना भावी योजना सहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् ।
    स्थापनाको डेढ दशक नाघिसकेको र ८० वटा देशमा फैलिसकेको गैरआवासीय नेपाली संघलाई आजको यस अवस्थासम्म ल्याईपुर्याउन महिलाहरुको अत्यन्तै ठुलो योगदान रहेको छ । तर संघमा अझैपनि महिला र दोस्रो पुस्ताको संलग्नता तुलनात्मक हिसाबले कमी नैं देखिएको छ ।

    संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिंदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वाबलम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफु अघि बढ्न लागेको उनले बताईन मरहट्टाले भनिन्, ”सन्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भुमिकालाई कुशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु। ”
    उनले महिला संयोजकको जिम्मेवारी आफुले पाएमा महिलाहरुसंग रहेको सीप र क्षमतालाई अझै बढी उजागर गर्ने र उनीहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरेर आत्मनिर्भर बन्ने कुरामा सहयोग गर्ने लक्ष्य राखेकी छन् ।
    बिबिसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टासंग यसअघि नै दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो — रेडियो सगरमाथाबाट रेडियो पत्रकारिता र छापा पत्रकारिताको लामो अनुभव छ । यसैको माध्यमबाट उनले नेपाली महिलाहरुको वास्तविक अवस्था गहिरो ढंगले बुझ्ने अवसर पनि पाइन ।
    बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् ।
    लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिईरहेकी छन् । अहिले पनि नियमित रुपमा राष्ट्रिय मिडियाहरुमा आफ्ना लेखहरु छपाउंदै आएकी छन् । उनी सेतोपाटी डट कमको कोलमिष्ट समेत हुन् ।
    गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहंदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भुमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् । एनआरएनए युकेको महिला संयोजक हुंदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात गराएकी थिईन् जसका बारेमा एनआरएनए बेलायतका अग्रज तथा सिंगो बेलायती नेपाली समुदाय परिचित रहेको छ । सो अभियान पछि बेलायतस्थित अरु नेपाली संघ संस्थाहरुमा महिलाहरुको सहभागीता र नारी दिवस मनाउने प्रचलन शुरु भएको थियो । गैर आवासीय नेपाली संघ युकेले सोही कार्यकालमा महिला दिवस कार्यक्रम मार्फत जुम्लाको मितेरी बर्थिड्ढ सेन्टर स्थापना गर्न आर्थिक सहयोग गरेको थियो ।
    सो अवधिमा उनले एनआरएनए युके महिला फोरमको प्रतिनिधित्व गर्दै हल्यान्ड, स्वीजरल्यान्ड र अष्ट्रेलियाको भ्रमण गरेकी थिइन् ।
    सन् २०१३ देखि २०१५ कार्यकालमा एनआरएनए युकेको सचिवजस्तो महत्वपुर्ण भुमिकामा निर्वाचित उनले सो कार्यकालमा पनि नारी दिवस कार्यक्रम, काउन्सिल बैठक, च्यारिटि डिनर लगायतका कार्यक्रमको संयोजन गरी त्यसलाई सफल रुपमा सम्पन्न गरेकी थिइन् । एनआरएनए युकेको इतिहासमा पहिलोपटक ”एनआरएन पत्र” नामक न्युजलेटरको शुरुवात पनि उनकै संयोजनमा भएको थियो ।
    सो कार्यकालमा उनले युरोप क्षेत्रीय बैठकहरुका लागि स्पेन र डेनमार्कको भ्रमण गरिन् । यसैगरी उनी सन् २०१४ मा जापानमा भएको सम्मेलनमा बेलायतबाट प्रतिनिधित्व गर्ने एकमात्र महिला थिईन् । यसका अलाबा एनआरएनए युकेको कार्यक्रम तथा योजना तय गर्ने र त्यसमा सक्रिय भुमिका निर्वाह गर्नेमा सचिवका रुपमा उनको कार्यकाल सफल रहेको थियो ।
    सन् २०१५ देखि २०१७ को कार्यकालमा आइसिसि सदस्य रहेकी मरहट्टा एनआरएनए आइसिसिको मिडिया उपसंयोजकका रुपमा चुनिएकी थिईन् । सो कार्यकालमा एनआरएनए सम्बन्धि समाचारहरु लेखन तथा सम्पादन लगायत मिडियाकर्मीहरुसंग सम्बन्ध बिस्तारमा उनको भुमिका रह्यो । आफ्नो कार्यकालमा भएका प्राय अधिकांश क्षेत्रीय सम्मेलन र विश्व सम्मेलन सन्चालन तथा समापनमा मरहट्टाको सहभागीता रहंदै आएको छ ।

    हाल २०१७ देखि २०१९ मा मरहट्टा युरोप क्षेत्रीय उपसंयोजक छन् । लक्जेम्बर्ग तथा इटालीमा क्षेत्रीय महिला भेलाहरु सम्पन्न गर्नुका साथै उनले आफ्नो कार्यकालमा बेल्जियम, फ्रान्स, अष्ट्रिया लगायतका युरोपेली देशहरुमा पुगी महिला फोरमको सशक्तिकरण, युरोपमा महिलाहरुले भोग्नु परेका भाषा लगायतका समस्याहरुमा जोड दिंदै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने आवाज उठाउदै आएकी छन् ।