CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • क्यानेडियन नागरिकलाई नेपाल भ्रमण गर्न पर्यटन मन्त्री भट्टराईको निम्तो

    नेपालका एयरलायन्स घाटामा जांदा मन शान्त भएन- मन्त्री भट्टराई

    क्यानाडाखबर डेस्क ।
    टोरोन्टो, साताव्यापी क्यानडाको भ्रमणमा रहेका नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपाल घुम्न जान स्वदेशी तथा विदेशी सबैलाई चुल्हो निम्तो दिएका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न नेपाली दूतावास तथा नेपाली समुदायले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मन्त्री भट्टराईले स्वदेशी तथा विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न निम्तो दिएका हुन् ।

    अन्तराष्ट्रिय नागरिक उड्यन संघ, आइकाओको माहासभामा सहभागी हुन क्यानडाको मोन्ट्रियल आउनु भएका भट्टराईले शुक्रबार एनआरएनए क्यानडाले गरेको कार्यक्रममा टोरोन्टोका सांसद तथा अन्य विदेशी नागरिकहरुलाई सर्वोच्च शिखर सगरमाथा र भगवान गौतमबुद्धको जन्मस्थल रहेको नेपाल एकपटक घुम्न आग्रह गरे । अब जो कोही छुट्टी मनाउन अन्य देश जानु भन्दा नेपाल नै गएर प्राकृतिक आनन्द लिन आव्हान गर्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न क्यानडाबासी नेपाली समुदाय जुटेर लाग्नु पर्नेमा जोड दिए ।
    वाइडबडी एयरलायन्स लगायत केही नयां एयरलायन्सहरु अहिले घाटामा गइरहेको अवस्थामा आफू विदेश घुम्दा पनि मन शान्त नभएको उनको कथन थियो । उनले भने, ‘यसका लागि नेपाल सरकारले समाधानको उपाय निकाल्न लागि परिरहेको छ ।’


    साथै उनले प्रवासमा रहेका नेपालीहरुको नागरिकता विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेकोले अब छोरा नाती सम्मले पनि नेपाली नागरिकता पाउन सक्ने व्यवस्था गरिने बताए । यस विषयमा केही कमिकमजोरि रहेछन् भने पनि विधेयक परिमार्जन गर्न सकिने उनको स्पष्टोक्ती थियो ।
    टोरोन्टोको नेपाली रेष्टुरेन्ट वन्क्वेट हलमा आयोजना गरिएको कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० मार्फत नेपाल क्यानडाका पर्यटक विच सुमधुर सम्बन्ध स्थापना गराउन आफू लागि परेको बताए ।

    यस्तै एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जिवी घिमिरे, उपाध्यक्ष उज्वल थापा, पूर्व महासचिव सुमन लम्साल लगायतले नेपालका सुन सुकै ठाउं पनि घुम्न योग्य रहेकाले त्यस्ता ठाउंहरुको प्रचार प्रसार गरि पर्यटकको शान्ती सुरक्षा प्रति पनि ध्यान दिन आग्रह गरेका थिए । एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गरेको कार्यक्रममा टोरोन्टो क्षेत्रका सांसद नाथलियन लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हिमालयन भाइव्सको सांगितिक प्रस्तुतीले कार्यक्रमको माहोल अझ रोमाञ्चक बन्न पुगेको थियो । यसअघि नेपाली दूतावासले राजधानी अटोवा र टोरोन्टोमा गरेका कार्यक्रमहरुमा पनि मन्त्री भट्टराईले नेपाल भ्रमणलाई नै विशेष जोड दिएका थिए । एकसाता लामो भ्रमणपछि मन्त्री भट्टराई आइतवार स्वदेश फर्कने कार्यक्रम छ ।