CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • प्रवासी नेपाली एकता मञ्च क्यानडाको अध्यक्षमा थापा र सचिवमा खड्का नियुक्त

    क्यानडाखबर डेस्क

    टोरोन्टो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न देशमा प्रवास संगठनको विस्तार गरेसंगै क्यानडामा पनि यसको टुंगो लगाइएको छ । पार्टीको प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले प्रवासी नेपाली एकता मञ्च क्यानडाको अध्यक्षमा यसअघिनै मञ्चको नेतृत्व गर्दै आएका रमेश थापालाई नै निरन्तरता दिएको छ भने नेपालको विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका अशोक खड्कालाई सचिवको जिम्मेवारि तोकिदिएको छ । यससंगै क्यानडाभरिबाट बनाइएको ३५ सदस्यीय कमिटिलाई पनि अनुमोदन  गरिएको अध्यक्ष थापाले जानकारि दिए । बैठकले दुवै संगठनको एकता गरि विभिन्न ३६ देशहरुमा प्रवासी नेपाली एकता मञ्च गठन गरेको हो ।

    त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा अंग्रेजी विषय प्राध्यापन गराएका थापाले विश्व विद्यालय र विद्यालयका प्राध्यापक तथा शिक्षकहरुको स्वतस्थायिको विरुद्धमा भएको आन्दोलनमा सफल नेतृत्वदायिक भूमिका खेलेका थिए भने तत्कालिन नेकपा एमाले निकट रहि केहि संगठनहरुमा पनि सक्रिय भूमिका खेलेका थिए । थापा नेपाल प्रगतिशिल प्राध्यापक संगठनको केन्द्रिय सदस्य समेत रहेका थिए । क्यानडामा पनि सन् २०१२ देखि नेपाली प्रवासी मञ्चको नेतृत्व गर्दै आएका थापाले पछिल्लो समयमा लेखेका केही गीतहरु चर्चामा छन् भने साहित्यमा पनि उत्तिकै दख्खल राख्ने गरेका छन् ।

    यस्तै सचिवमा नियुक्त भएका खड्कासंग पनि नेपाली विद्यार्थी राजनीतिको राम्रो अनुभव छ । ओखलढुंगा र ललितपुर पार्टी जिल्ला कमिटि सदस्य देखि पाटन संयुक्त क्याम्पस ललितपुरको स्ववियू राजनीति गरेको पृष्ठभूमी उनिसंग छ । प्रोग्रेसिभ नेपाली फोरम अमेरिका र कन्सर्न नेपाल क्यानडा लगायतका सामाजिक संघसंस्थामा पनि आवद्ध भएर कार्य गरिसकेका खड्काले अहिले नेपाली प्रवासी एकता मञ्चको सचिवको जिम्मेवारि पाएका हुन् ।

    अध्यक्ष थापाले क्यानडामा प्रवासी मञ्चले नेपाली समुदायलाई अहिले सम्म एकत्रित गर्ने प्रयास गर्दै आएको र भविष्यमा पनि समाजलाई मजबुद बनाउन शसक्त भूमिका खेल्ने भएकाले यसकालागी सवैको साथ र सहयोग गर्न आग्रह गरे ।