CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • नेपाली भूमि मिच्दै भारतले एकपक्षीय रुपमा सडक सञ्चालनमा ल्यायो

    काठमाडौँ । भारतले धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म अतिक्रमण गर्दै एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको छ । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत तिब्बतमा रहेको कैलाश मानसरोबर यात्राका लागि खोलेको उक्त बाटोको उद्घाटन गरेका हुन् ।

    ‘मानसरोवर यात्राको लिंक रोड उद्घाटन गर्न पाउँदा खुशी लागेको छ। बीआरओ (बोर्डर रोड अर्गनाइनेसन)ले धार्चुलादेखि लिपुलेक (चीन सीमा) कैलाश मानसरोवर यात्रा रुटको रुपमा चिनिन्छ । पिथौरागढदेखि गुन्जीसम्म जाने मोटरहरुको समूहलाई विदाई गर्दै सो रुटको उद्घाटन गरेको छु ।’ रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

     

    गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि चर्को विवाद भएको थियो । नेपालले सो सीमासम्बन्धी विषयलाई समाधान गर्न वार्ताको प्रस्ताव गरे पनि भारतले चासो देखाएको छैन ।

    त्यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विकास गर्ने भनी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । त्यतिबेला उनीहरूले नेपाललाई कुनै जानकारी दिएका थिएनन् ।