CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • टोरोन्टो घोषणापत्रसहित अमेरिकाज क्षेत्रीय सम्मेलन सम्पन्न, नेपालको विकासमा प्रवासी ज्ञान फलदायी

    क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

    टोरोन्टो, ८ बुंदे टोरोन्टो घोषणापत्र जारि गर्दै ३ देखी जारि अमेरिकाको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलन सकिएको छ । एनआरएनए क्यानडाले पहिलो पटक आयोजना गरेको अन्तराष्ट्रिय स्तरको यस्तो सम्मेलनबाट प्रवासी सिप र क्षमतालाई पहिचान गरि सहि ढंगले सदुपयोग गर्न सके मात्र पनि नेपाल सरकारलाई राष्ट्रिय विकासमा ठूलो सहयोग पुग्ने विज्ञहरुले सुझाव दिएका छन् । भच्र्यूअलरुपमा अमेरिकी क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका नेपाली विज्ञहरुले प्रवासको सिप, ज्ञान, पूजी र प्रविधीलाई राष्ट्रिय योजनामा समावेश गरेर लैजान सके नेपालको सामाजिक, आर्थिक लगायत थुप्रै क्षेत्रको विकासमा सहयोग पुग्नेमा जोड दिएका छन् ।

    सम्मेलन समापन समारोहलाई सम्वोधन गर्दै क्यानडाका लागि नेपाली राजदूत तथा क्षेत्रीय भेला समापन समारोहका प्रमुख अतिथि भृगु ढुंगानाले प्रवासमा रहेका नेपालीहरुको सीप, पुंजी, प्रबिधि जस्ता कुरालाई नेपालको सामाजीक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण भूमीका अहिले पनि खेल्दै आएकाले यसलाई नेपाल सरकारले पनि उच्च रुपमा लिएको र भविष्यमा यो एउटा कोसेढुंगा सावित हुने बताए । सेप्टेम्वर ४, ५ र ६ गरि तीन दिन सम्म चलेको सम्मेलनको दौडानमा बिभिन्न विषयमाथि बिभिन्न बिधामा बिज्ञहरुका ज्ञान सम्बन्धि कार्यपत्र सन्चालन भएका थिए । सम्मेलनबाट आएको विज्ञहरुको विचारहरुलाई समेटेर जारि गरिएको टोरोन्टो घोषणापत्र गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि समिति मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिने आयोजक एनआरएनए क्यानडाले जनाएको छ ।

    उत्तरी अमेरिकाका आरसी राजन त्रिपाठीको अध्यक्षमा डिआरसी राम पोखरेल, युवा संयोजक विमला सापकोटा महिला संयोजक उमा कार्की थापा तथा आईसीसी सदस्य गोपीकृष्ण काफ्ले आयोजक राष्ट्रबाट कोअर्डिनेटर तथा एनआरएन क्यानडाबाट चिरञ्जीवी घिमिरे तथा अमेरिका बाट सुनिल शाह लगायत सबै आईसीसी कमिटीका सदस्य राखिएको थियो ।

    दोस्रो विज्ञ सम्मेलनका लागि संयोजकमा डाक्टर लक्ष्मी पाठक तथा उपसंयोजकमा अमेरिकाबाट डाक्टर आमोद पोखरेल र खाध्य वैज्ञानिक नारायण घिमिरे रहेका थिए । कार्यक्रममा बिभिन्न नौ वटा कमिटीहरू बनाइएका थिए । जस अन्तर्गत मिडिया कोअर्डिनेटरमा गोपी कृष्ण काफ्ले, पब्लिक रिलेसनमा ढुण्डिराज पाण्डे, इभेन्ट कोअर्डिनेटरमा एनआरएनए क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरे तथा एनआरएन क्यानडा रजिष्ट्रेशनमा रविन्द्र घिमिरे, स्वयंसेवकमा अभिमन्यु बस्नेत, कृष्णा शर्मा काफ्ले, फाइनान्स होमनाथ गौतम, आईटी कमिटीमा राजन त्रिपाठी र मणि पनेरु नेपाली रहेका थिए ।

    यसैविच हरेक विज्ञ टिमहरु निर्माण गर्दा महिला सहभागीताको संख्या न्यून रहेको भन्दै केही महिला पदाधिकारि र एनआरएनएका सकृय महिला सदस्यहरुले कार्यक्रम वहिष्कार गरेका थिए । उनिहरुले सम्मेलनको दौडानमा पुरुषको जस्तो विज्ञता महिलाहरुसंग पनि हुन सक्ने भन्दै यसमा भेदभाव देखिएको आरोप पनि लगाएका छन् । त्यसोत सम्मेलनको समापनपछि आयोजित पत्रकार सम्मेलनमा करिव १ घण्टाको समय महिला सहभागीताकै विषयमा सवाल जवाफले वितेको थियो । तर महिला विज्ञहरुले महिला विशेष सम्मेलनमा भने सहभागिता जनाएका थिए, जसमा धेरैजसो क्यानडाबाट नै सहभागीता देखिएको थियो ।

    केही छिटपुट विवादका विच पनि सफलतापूर्वक सम्मेलन सम्पन्न गरेकोमा आयोजक एनआरएनए क्यानडालाई सहभागी सवै अतिथी एवं सहभागी विज्ञहरुले धन्यवाद दिएका छन् । सम्मेलनको समापन कार्यक्रमको संचालन आयोजक एनआरएन क्यानडाका महासचिव पिताम्वर भट्टराईले गरेका थिए ।