CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • पञ्जाबलाई हराउँदै मुम्बई आइपीएलको शीर्ष स्थानमा

    एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

    अबुधाबीमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै दोस्रो जित हात पारेको मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

    मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

    पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

    मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

    मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए ।

    पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए ।

    जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई दुई जित र दुई हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि मुम्बई भन्दा एक खेल कम खेलेको दिल्ली ४ अंक नै भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।