CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • ५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डाटा लिक

    फेसबुक चलाउने ५३ करोड ३० लाख प्रयोगकर्ताको डाटा लिक भएको छ । फेसबुक र टेलिग्राम एप एउटै फोनमा प्रयोग गर्ने प्रयोगकर्ताको लिक भएको व्यक्तिगत विवरण अनलाइनमार्फत बिक्रीमा राखिएको छ ।

    फेसबुक प्रयोगकर्ताको यो डाटा लिक टेलिग्राम एपको बटमार्फत भएको बताइएको छ । भाइसको रिपोर्ट अनुसार लिक भएका फेसबुक अकाउन्टमा रहेको मोबाइल नम्बरको बिक्री २० अमेरिकी डलरमा भइरहेको छ ।

    त्यस्तै थोकमा १० हजार व्यक्तिको जानकारीका लागि पाँच हजार अमेरिकी डलर मोल राखिएको छ । अन्य डाटा समेत यसैगरी बिक्री भइरहेको छ । रिपोर्टमा दाबी गरिएअनुसार यो डाटा सुरक्षित म्यासेजिङ एपको रुपमा प्रचार गरिएको टेलिग्राम एपबाट लिक भएको हो ।

    डाटा लिक भएको समाचार बाहिर आएपछि फेसबुकले त्यस्तो बटले सन् २०१९ पछि बनेका अकाउन्टमा भने काम नगर्ने बताएको छ । सोझो अर्थमा भन्ने हो भने यो लिकबाट त्यस्ता प्रयोगकर्ताहरु प्रभावित भएका छन् जसको अकाउन्ट सन् २०१९ अघि बनाइएको थियो ।

    फेसबुकका अनुसार यो ह्याकिङबाट सन् २०१९ भन्दा अगाडि बनाइएका अकाउन्टमा टेलिग्रामबाट पहुँच बनाउन सकिने अवस्था रहेको छ । यदि कुनै व्यक्तिले कसैको फेसबुक आईडी थाहा पाएको छ भने यो बटमार्फत त्यस्तो प्रयोगकर्ताको मोबाइल नम्बर पत्ता लगाउन सक्ने जोखिम रहेको थियो ।

    त्यसैगरी यदि कुनै व्यक्तिको फोन नम्बर छ भने उक्त व्यक्तिको फेसबुक आईडी पत्ता लगाउन समेत यो बट प्रयोग गर्न सकिने अवस्था रहेको थियो । यद्यपी फेसबुकको उक्त भल्नरेबिलिटी (जोखिम) सन् २०१९ मै टाली सकिएको बताइएको छ ।

    डाटा लिकमा परेका फेसबुक प्रयोगकर्ताहरु फिशिङ आक्रमण तथा अन्य किसिमका ठगीमा पर्नसक्ने जोखिम छ । फेसबुकले लामो समयदेखि टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताबाट फोन नम्बरहरु संकलन गर्दै आएको छ ।

    बट एक प्रकारको सफ्टवेयर हो । जसले पूर्व निर्धारित कामलाई बारम्बार दोहो¥याइरहने सामथ्र्य राख्दछ । इन्टरनेटको माध्यमबाट काम गर्ने यस्तो बटको प्रयोग सामाजिक सञ्जालमा धेरै मात्रामा हुने गर्दछ । जसबाट कुनै कुरालाई भाइरल बनाउने, लाइक धेरै देखाउने, रिट्वीट गर्ने आदि कामहरु गर्ने गरिन्छ ।