CanadaKhabar.com

Monday, April 29, 2024 -
  • क्यानाडाको प्रतिष्ठित ‘जुनो अवार्ड’को तीन विधामा छानिए नेपाली मुलका कर्टिस वाटर्स

    क्यानडाखबर डेस्क ।

    क्यानाडाको प्रतिष्ठित जुनो अवार्ड-२०२१ को नोमिनेसन हालै सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गरिएको मनोनयनमा नेपाली मूलका गायक कर्टिस वाटर्स अर्थात अभि बस्ताकोटी विभिन्न तीन विधामा पहिलो पटक छनौटमा परेका छन्। उनी यस बर्षको “जुनो फ्यान च्वाइस अवार्ड” र “ब्रेक थ्रु आर्टिस्ट अफ द इएर”को प्रतिस्पर्धामा छानिएका छन्। यसका साथै उनको “पिटी पार्टी” एल्बम यस बर्षको “अल्टर्नेटिभ एल्बम अफ द इएर” को लागि छनौटमा परेको छ।
    फ्यान च्वाइस अवार्डको लागि उनी विश्व विख्यात गायक जस्टिन बिबर, शन मेन्डेज, लेनन स्टेला, द विकेन्ड, जे पी स्याक्स लगायतका गायक गायिकासंग प्रतिस्पर्धा गर्दैछन। यसैगरी उनीसंगै यस वर्षको ब्रेक थ्रु आर्टिस्ट क्याटेगोरीमा रेल्याण्ड जेम्स्, टेट म्याकरे, पोफुल र जेपी स्याक्स पनि छन्। अल्टर्नेटिभ एल्बम अफ द इएरको लागि कर्टिस वाटर्सको “पिटी पार्टी” सहित अन्य चर्चित कलाकारका चार वटा एल्बम पनि परेका छन्।

    यस बर्षको अवार्ड मनोनयनमा द विकेन्ड छ विधामा छनौटमा परेका छन् भने सुपरस्टार जस्टिन बिबर, जे पी स्याक्स र जेसी रियाज विभिन्न पांच विधामा छनौटमा परेका छन्। आफू पहिलो पटक नै चर्चित कलाकारहरूसंगै तीन विधामा छनौटमा परेपछि खुसी प्रकट गर्दै कर्टिस वाटर्सले आफुले गीत संगीतलाई प्रतिस्पर्धाको लागिभन्दा पनि व्यक्तिगत खुसी र भावना व्यक्त गर्नका लागि गरिने सिर्जनात्मक कामको रुपमा लिएको बताए। यद्यपि उनले यो मनोनयनबाट आफ्नो कामलाई पाश्चात्य संगीतको मूलधारमा स्थापित गर्न थप मदत पुग्ने विश्वास लिएका छन् ।

    सन् १९९९ को डिसेम्बरमा काठमान्डौमा जन्मेका अभि बस्ताकोटी सांगीतिक क्षेत्रमा कर्टिस वाटर्स नामले चिनिन्छन। आफ्ना अभिभावकसंगै क्यानाडा हुँदै हाल अमेरिकाको नर्थ क्यरोलाइना बसोबास गर्दै आएका कर्टिस वाटर्स अघिल्लो बर्ष “स्टनिन” गीत मार्फत् विश्वभरी चर्चित भएका थिए। उनको उक्त गीत हालसम्म विभिन्न प्ल्य़ाटफर्ममा ३७५ मिलियनभन्दा बढी पटक स्ट्रिमिङ्ग भैसकेको छ। उनको यो गीत क्यानाडामा प्लाटिनम सर्टिफाइड, ब्राजिल र म्याक्सिकोमा गोल्ड सर्टिफाइड भएको छ। यसैगरी “स्टनिन” क्यानाडाको उत्कृष्ट ४० गीतको सातौं स्थानमा र बिल्वोर्ड हट -१०० क्यानाडा चार्टको उत्कृष्ट २५ मा परेको थियो।

    टिकटक प्रबिधिको प्रयोगबाट इन्टरनेटमा गीत संगीतलाइ चर्चित बनाउन सफल भएकोले कर्टिस वाटर्स यही मार्च १३ मा टिकटक र लजिटेकले पहिलो पटक प्रदान गरेको “द सङ्ग ब्रेकर अवार्ड” बाट समेत सम्मानित भएका छन्।