CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा विश्वम्भर घिमिरे

    विदेशको विचार मिल्ने पार्टीसंग पनि सहकार्य गर्नुस, एमाले नेता भट्टराई


    क्यानडाखबर डेस्क । टोरोन्टो,
    नेकपा एमाले स्थायी कमिटि सदस्य एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले प्रवासमा रहेका नेपालीले याहांको राजनीतिक पार्टीसंग समन्वय गरेर अघि बढ्न सुझाव दिनु भएको छ । नेपालको मात्र राजनीति भन्दा पनि सम्बन्धित देशको कुनै पनि विचार मिल्ने पार्टीसंग सहकार्य गर्दा दुवै देशका पार्टीलाई सहयोग पुग्न सक्ने डा. भट्टराईको भनाइ थियो ।

    प्रवासी नेपाली मञ्च क्यानडाको तेस्रो अधिवेशनको उद्घाटन गर्दै नेता भटट्राईले क्यानडामा वसोवास गर्ने नेपालीहरुविचको सुमधुर सम्वन्धलाई पार्टीगतरुपले भन्दा पनि संस्थागतरुपमा जोडिन सके अझ राम्रो हुने बताउनुभयो । एक छुट्टै प्रसंगमा उहांले नागरिकता विधेयक पारित भएमा राजनैतिक अधिकार बाहेक एनआरएनएका सवै माग पूरा हुने भएकाले यसमा कुनै शंका नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा गैर आवासिय नेपाली संघका केन्द्रिय सचिव चिरञ्जिवी घिमिरेले प्रवासीहरुको मुद्दाहरुमा नेपाल सरकार र सबै राजनीतिक पार्टीहरु सकरात्मक रहेको र यसका लागि संघ निरन्तर लागि परेको जानकारि गराउनुभयो ।

    प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय सल्लाहाकार कमिटि संयोजक संजय थापा, प्रवासी नेपाली मञ्च उत्तर अमेरिकी कमिटि संयोजक इश्वरी भट्ट र प्रवासी नेपाली मञ्च अमेरिकाका नवनिर्वाचित अध्यक्ष कृष्ण लामिछानेले अधिवेशन सफलताको कामना गर्दै नवनिर्वाचित पदाधिकारिहरुले भविष्यमा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

    यसैगरि नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी प्रकाश ओलीले अधिवेशन सफलताको कामना गर्दै क्यानडामा पार्टीगत हिसावले विचार फरक देखिए पनि आफ्नो समुदायको हितका लागि सवै संस्था एकजुट रहेको स्पष्ट पार्र्नुभयो । मञ्चका निवर्तमान अध्यक्ष रमेश थापाले प्रवासी मञ्चले आपत्त विपत्तको समयमा यहांका सवै संघसंस्थाहरुसंग विगत १० वर्षदेखि सहकार्य गर्दै आएकोले आगामी दिनहरुमा पनि यस्तै वातावरण कायम नै हुने विश्वास व्यक्त गर्नुभयो । मञ्चको स्थापनाकाल देखी नेतृत्व सम्हाल्दै आउनु भएका थापाले १० वर्षपछि नेतृत्व हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा एनसीसीएस, एनसीएनसी, लालीगुरांस स्पोर्टस क्लव, नेप्लिज टोरोन्टो स्पोर्टस क्लव, पिएनसीसी, काश्की सेवा समाज, बाग्लुड. सेवा समाज, गोर्खा समाज लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस्तै नेपाली लोक गायक पुरुषोत्तम न्यौपानेले शुभकामना दिदै केही लोक गीत प्रस्तुत गर्नुभएको थियो ।

    अधिवेशनले मञ्चका निवर्तमान महासचिव विश्वम्भर घिमिरेको अध्यक्षतामा महासचिव, ३ उपाध्यक्ष र एक सचिव र ३ जना उपसचिव रहने गरि ३५ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ । कार्यक्रपछि शुरु भएको बन्दसत्रले पूर्व महासचिव घिमिरेलाई अध्यक्षमा सर्वसम्मत बनाएको थियो । ३ दिनको क्यानडाको बसाइपछि एमाले नेता भट्टराई अमेरिका हुंदै नेपाल फर्किसक्नु भएको छ ।