CanadaKhabar.com

Monday, April 29, 2024 -
  • नेजा र महासंघबीच समझदारी–पत्रमा हस्ताक्षर

    क्यालिफोर्निया, २४ जुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघबीचमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेजाको तर्फबाट संघका महासचिव सुरज भण्डारी र महासंघको तर्फबाट महासचिव रोसन पुरीले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा नेजाका अध्यक्ष विकासराज न्यौपाने, संस्थापक अध्यक्ष गिरीश पोख्रेललगायत संघका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    महासंघका अध्यक्ष विपुल पोखरेल भच्र्युअल रूपमा जोडिनुभएको थियो । नेजा र महासंघका बीचमा नौबुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेजाको स्थापना भएदेखि नै नेजा र महासंघका बीच सहकार्य हुँदै आएको छ । नेजा र महासंघबीचको सहकार्यलाई औपचारिकता दिने कार्य भने नेजाका अध्यक्ष आङछिरिङ शेर्पा र महासंघको अध्यक्ष शिव गाउँले रहँदा भएको थियो । दुई संस्थाबीचको सम्बन्ध र सहकार्यलाई अझै कसिलो बनाउने उद्देश्यसहित २४ जुलाई, २०२२ मा बृहत्तर रुपमा नेजा र महासंघको बीचमा समझदारी भएको हो । समझदारी पत्रमा नेपाल पत्रकार महासंघ र नेपाल अमेरिका पत्रकार संघ (नेजा) दुई देशका अलग–अलग कानुनअनुसार स्थापित संस्था हुन् । तर, दुवै संस्थाको उद्देश्य र सदस्यसमेत पत्रकारितासँग सम्बन्धित नै हुने भएकाले दुई संस्थाका बीचमा सम्बन्ध स्थापित हुनु सकारात्मक छ ।

    यी दुई संस्थाबीच आपसी समझदारी, सहकार्य र समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न दुवै संस्था सहमत भएकाले यो सम्झौता गरिएको उल्लेख गरिएको छ । यस्तै, समझदारी पत्रमा नेजा र महासंघले औचित्यका आधारमा एकअर्कामा सहकार्य गर्दै नेपाल, अमेरिका र क्यानडामा विभिन्न कार्यक्रम गर्ने र नेजाले नेपालमा गर्ने गतिविधि महासंघको सहकार्यमा गर्नेछ भने महासंघले अमेरिका र क्यानडामा गर्ने कार्यक्रम नेजाको सहकार्यमा गर्ने भनिएको छ ।

    समझदारीसँगै संयुक्त राज्य अमेरिका र क्यानडामा आवश्यक पर्दा नेजा नेपाल पत्रकार महासंघको औपचारिक प्रतिनिधिमूलक संस्थाको रुपमा रहनेछ भने नेपाल पत्रकार महासंघको सदस्य भइसकेको र नेजाको साधारण सदस्यता कायम रहेको पत्रकारको हकमा महासंघको सदस्यता नवीकरण सहज भएको छ । हस्ताक्षरपछि बोल्नुहुँदै नेपाल पत्रकार महासंघका महासिचव रोसन पुरीले नेजा र महासंघका बीचमा हुँदै आएको सहकार्यलाई औपचारिक रुप दिएर दुई संस्थाको सम्बन्धलाई अझ बलियो बनाउनका लागि लिपिबद्ध गरेर अगाडि बढ्दा सान्दर्भिक देखिएकाले यो सम्झौता गरिएको बताउनुभयो । यो समझदारी पत्रको उद्देश्य भनेको नेपाली पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउनु रहेकोमा नेपाल पत्रकार महासंघ विश्वस्त रहेको महासचिव पुरीले बताउनुभयो । यसैगरी, सो हस्ताक्षर कार्यक्रममा नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेजा र महासंघबीचको औपचारिक समझदारी पत्रले एकअर्का संस्थाबीचको सहकार्यमा नयाँ उचाइ दिने बताउनुभयो । यो समझदारी पत्रले औपचारिकता पाएपछि नेपाल, अमेरिका र क्यानडामा रहनुभएका पत्रकारहरुबीचको सम्बन्ध अझ आत्मीय तथा भाइचारापूर्ण हुने बताउँदै एकअर्काप्रतिको सहयोग र सहकार्य अपरिहार्य रहने बताउनुभयो ।

    यसैगरी, हस्ताक्षर कार्यक्रमलाई भर्च्युअलमार्फत सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो समझदारी पत्रले नेजा र महासंघबीचको संस्थागत सम्बन्ध औपचारिक रुपमा थप मजबुत हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । अध्यक्ष पोखरेलले यो समझदारी पत्रले हार्दिकता र अपनत्व बढाएको आफूले पाएको बताउनुभयो । हस्ताक्षर कार्यक्रमको सञ्चालन नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) गोकुल श्रेष्ठले गर्नुभएको थियो । महासंघको तर्फवाट महासचिव पुरी नेजाको १५औं साधारण सभामा सहभागी हुन आउनुभएको थियो । सोही अवसरमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएसँगै संघ र महासंघका बीचमा आपसी समझदारी पत्रमा हस्ताक्षर हुनुअघि नेपाल अमेरिका पत्रकार संघको १५औं साधारण सभाले समझदारी पत्रको मस्यौदालाई अनुमोदन गरेको थियो ।

    नेजाले महासंघसँगको सहकार्यमा नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ भने विभिन्न क्षेत्रमा नेजा र महासंघका बीचमा सहकार्य हुँदै आएको छ ।