CanadaKhabar.com

Monday, April 29, 2024 -
  • क्यालगरीको एडवर्धी पार्क नेपाली गीतसंगीतमय

    अगस्ट ७, क्यानाडाखवर.कम क्यालगरी

    “लजाउँछु एक्लै हेरेर ऐना, झम झम झमकना लाउँकी नलाउँ भो” शनिवार क्यालगरीको साउथवेस्ट स्थित एडवर्धी पार्क नेपाली गीतसंगीतमय बनेको थियो ।

    तीज गीतमा छमछमी नाचिरहेकी काठमाडौ सीतापाइला निवासी सुमित्रा घिमिरेले पसिना पुछ्दै भनिन “ घर सुत्केरी छोरी छोडेर आएकी छु । तर पनि एकदमै खुशी लागेको छ । यति धेरै नेपालीहरु एकै ठाउँमा देख्दा, सवै मिलेर नाचगान गरेको देख्दा खुशीको सिमा नै छैन”

    उनले क्यालगरीको बसाई एकदमै रमाइलो भएको बताइन । उनी भन्छिन “म अमेरिका आएकी थिए । मेरो श्रीमान अझै छोरासंग अमेरिका हुनुहुन्छ । मलाई त उता भन्दा क्यालगरी रमाइलो लाग्यो । नेपालीहरु कस्तो एकजुट भएको” उनले थपिन “ अलि अलि कविता पनि लेख्छु, सुनाउन अलि डर लागे जस्तो भयो । तर पनि सुनाएँ, खुशी लाग्यो ।

    सुमित्रालाई मात्र होइन । छ महिना अघि क्यालगरी युर्निभर्सिटिमा मास्टर्स इन सिभिल इन्जिनियरिङ्ग पढ्न आएकी अनिता पण्डितलाई नेपाली दाजुभाई दिदिवहिनीहरु भेट्न पाउँदा निकै खुशी लागेको छ ।


    उनी भन्छिन “ चार महिना युर्निभर्सिटी मा विदा छ । विदाको बेलामा एनसिएससीको इभन्टहरुमा भोलेन्टियर गरिरहेकी छु । खुशी लाग्छ, यसरी धेरै नेपालीहरु एकै ठाउँमा देख्न पाउँदा”

    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीद्धारा आयोजित समर पिकनिक २०२२’ स्थानीय कलाकारको प्रस्तुतिले उपश्थित सहभागीहरु प्रफुल्ल देखिन्थे ।

    क्यालगरीबासी नेपालीहरु विच आपसी भेटघाट तथा मनोरञ्जन गराउने उद्देश्यले एनसिएसीले बार्षिक समर पिकनिकको आयोजना गर्ने गरेको छ ।
    हरेक बर्ष झै यो बर्ष पनि समर पिकनिकमा विभिन्न मनोरञ्जनात्मक खेल, तथा नाचगानको व्यवस्था गरिएको एनसिएससी समर पिकनिकका संयोजक द्धय नविन हमाल र युवराज गुरुङ्गले बताए ।