CanadaKhabar.com

Wednesday, February 25, 2026 -

मेरो भगवान् !

म नास्तिक होइनँ । म भन्छु, भगवानको विश्वाश हुनुपर्छ, बाहिरी स्वरूप देखेर मात्र नभइ भित्रैदेखि एउटा आस्थामा अडिग रहनुपर्छ; तर म पूर्ण आस्तिक पनि होइनँ। मलाइ सुटुक्क रातमा भगवानले दर्शन दिएका छैनन्। कैयौंलाई भगवानको दूत बनाउँदा के म दूत बन्न सक्दिन र? स्वार्थी भगवान हौ तिमी, खुल्लमखुल्ला म यो जाहेरी गर्दछु। त्यसैले म भन्न सक्छु म पूर्ण आस्तिक होइनँ। म आध्यात्मिक हुँ म धर्मभन्दा अग्लो रूख चढेर अध्यात्मको दर्शन गर्छु स्वयम् बिना रक्तपात। जहाँ तेत्तिसकोटी मात्र भगवान छैनन् त्यहाँ म एउटा धर्मको आस्तिक भएर कैयौंलाइ घृणा गर्न सक्दिनँ। मेरो अध्यात्मलाई धूपबत्ती चाहिंदैन, नैवेध्य चाहिंदैन, भजन किर्तन चाहिंदैन, फूल अविर केही चाहिंदैन। सत्कर्मको अग्लो पहाडबाट नियाल्दा तलका धार्मिक अधर्मीहरू देखिंदैनन्, भगवानको स्वरूपमा ज्यूंदा ढोंगीहरू देखिंदैनन्। देखिन्छ त केवल एकमात्र अध्यात्मदेव जो शान्त, स्निग्ध क्षितिजमा मलाई अन्तर्हृदयदेखि स्विकारेर अंकमाल गर्न उत्साहित भएको हुन्छ; मेरो आस्था मेरो भगवान् !