CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • स्कारवोरोमा हुने शिव महापूराणको तयारी तीब्र, राधिका दासी र सपना देवी श्रेष्ठबाट कथा वाचन हुने

    क्यानडाखबर डेस्क ।
    टोरोन्टो, क्यानडा

    स्कारवोरोमा हुने शिव महापूराणको तयारी तीब्र, राधिका दासी र सपना देवी श्रेष्ठबाट कथा वाचन हुने, चन्द्रग्रहणका कारण पहिलो दिन सवै धार्मिक कार्य ठप्प । क्यानडाखबवर, टोरोन्टो, टोरोन्टो, स्कारबोरो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले ठूलो प्रतिक्षा गरेको शिव महापूराणको तयारी अहिले तिब्ररुपमा भइरहेको छ । नेपाली पशुपतिनाथ तथा बुद्ध मन्दिर स्थापनाको लागि भवन खरिद भएपछि मन्दिर व्यवस्थापन समिति पिएनसिसिसिले शिव महापूराण आयोजना गर्न लागेको हो । यहि आउँदो अक्टोबर २८ देखि नोभेम्वर ५ सम्म संचालन हुने महापूराणमा नेपालका चर्चित धार्मिक कथा वाचिका द्धय भागवत मञ्जरी राधिका दासी र विदुषी माता सपनादेवी श्रेष्ठले कथा वाचन गर्ने तय भएको आयोजक पिएनसीसीसी सचिव निलकण्ठ पौडेलले जानकारी गराउनु भयो ।

    भागवत वाचिका द्धय राधिका दासी र विदुषी माता सपनादेवी श्रेष्ठ दुवै महिला वाचिकाबाट कथा श्रवण गर्ने अवसर पाएको भन्दै यस क्षेत्रका नेपालीहरु थप उत्साहित बनेका छन् । यस पुराण सम्पन्न गर्न आयोजक पिएनसीसीसीले विभिन्न समिति र उपसमितिहरू बनाएर आफ्नो तयारीलाई अगाडि बढाइरहेको छ । यसरी बनाइएका समिति संयोजकहरुमा प्रचारप्रसारमा विदुर केसी, उपसंयोजकमा बिष्णुहरी भण्डारी, सरसफाइ व्यवस्थापन समितिमा प्रदिप पौडेल, स्वयंसेवक संचालन समितिमा रविन घिमिरे, भजन मण्डली संयोजकमा उत्तम भट्टराईर उपसंयोजकमा मोहन थापा, भोजन तथा प्रसाद व्यवस्थापनमा गणेश खत्रीलाई जिम्मेवारी दिएको छ ।

    यसैबीच अक्टोबर २८ का दिन देखी शिव महापुराण शुरु हुने भनिएपनि चन्द्र ग्रहण लाग्ने भएकाले त्यसदिन धार्मिक कार्यहरु बाहेक शुभकामना मन्तव्य र नगरपरिक्रमा मात्र हुने र बांकी धार्मिक कार्यहरु भोलीपल्ट देखी गरिने संस्थाका अध्यक्ष केदार बस्नेतले जानकारि दिनुभयो ।

    ९ दिन सम्म चल्ने महापुराणको दौडानमा विवाह, व्रतबन्ध, लाख वत्ती, गुन्युचोली, पास्नी, ग्रहशान्ती पूजा लगायत थुप्रै नेपाली समुदायका धार्मिक कार्यहरू पनि गर्न सकिने भएकाले इच्छुक व्यक्तिले पिएनसीसी प्रतिनिधिहरुसंग सम्पर्क गर्न अध्यक्ष अरुणा पौडेलले आग्रह गर्नु भएको छ । साथै हरेक दिन महापूराणमा कर्ता वस्न इच्छुक व्यक्तिले सकेसम्म छिटै सम्पर्क गर्न पनि उहांले अनुरोध गर्नुभएको छ । यस विषयमा छिटै औपचारिक जानकारी आउने अध्यक्ष पौडेलको भनाइ छ ।

    यसैबीचमा मन्दिर व्यवस्थापन समितिका प्रवक्ता समेत रहेका मिडियाकर्मी बद्री तिमल्सिनाले तयार पार्नुभएको एउटा विशेष भिडियो सामग्री तल प्रस्तुत गरिएको छ । विस्तृत विवरणका लागि यो तलको भिडियो हेर्नुहोला ।