बलराम काफ्ले – विन्ड्सर क्यानडा ।
भूटानी क्यानाडियन एशोसिएसन (BCA) ले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा एक भव्य अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम आयोजना गर्ने भएको छ। अप्रिल १३ का दिन साँझ ७:०० बजे उज्यालो विन्डसर (Ujjaylo Windsor) मार्फत प्रत्यक्ष प्रसारण गरिने यस कार्यक्रममा, विभिन्न देशहरूमा छरिएर रहेका नेपाली भाषा, साहित्य, रचनाशीलता तथा वक्तृत्वमा रुचि राख्ने साहित्यकार, कवि, लेखक, तथा वक्ताहरूको विशेष सहभागिता रहनेछ।

BCA का अध्यक्ष कृश अधिकारीका अनुसार, यो कार्यक्रम नेपाली भाषा, साहित्य, र पहिचानलाई जोगाइ राख्ने तथा प्रवर्द्धन गर्ने अभियानको एउटा महत्वपूर्ण कोसेढुंगा सावित हुनेछ। नेपाली भाषाको जगेर्ना गर्न र नयाँ पुस्तालाई आफ्नो भाषा तथा संस्कृतिप्रति गर्व गर्न अभिप्रेरित गराउने उद्देश्यले आयोजना गरिने यस कार्यक्रमले नेपाली समुदायलाई अझ सशक्त रूपमा एकजुट गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा विभिन्न ख्यातिप्राप्त साहित्यकार तथा कविहरू—तिला आचार्य, शिव दाहाल, भोला सुवेदी, तुला बिस्ट, विश्वास लामा, दुर्गा रिमाल, नवीन प्राचिन, वीरेन मगर, सञ्चमान खालिङ, गंगाराम लामिटारे, तुम्बेहाङ लिम्बु, भानु ढुंगाना, मदन दुलाल, पुरानाघरे, अविषेक शर्मा, डेन्जोम साम्पाङ, जमुना न्यौपाने, नारद खरेल, खगेन्द्र गौतम, ओम पोख्रेल, बलराम काफ्ले, दिल भूटानी, तेजमान रोका, टिकाराम राई, कर्ण गुरुङ र दिपित लगायतका प्रतिभाहरूले आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गर्नेछन्।
“हाम्रो भाषा, हाम्रो पहिचान – संरक्षण र प्रवर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिने यो विशेष कार्यक्रमले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। नेपाली समुदायका सबैलाई प्रत्यक्ष प्रसारणमार्फत सहभागी भई नेपाली भाषा र संस्कृतिप्रति सम्मान व्यक्त गर्न आयोजक समितिले अनुरोध गरेको छ।