CanadaKhabar.com

Friday, March 28, 2025 -
  • क्यानडामा नेपाली नयाँ वर्ष; टोरोन्टाेकाे मुटुमा राष्ट्रिय झण्डासङ्गै फहरिदैँ नेपालीपन

    बिजय अधिकारी – टोरोन्टो
    क्यानडाखबर डेक्स ।

    शहरका अग्ला भवनहरूबीच, चकमन्न निलो आकाशलाई उद्दित गर्दै, जब रातो र चन्द्रसुर्य ध्वजावाहक नेपाली राष्ट्रिय झण्डा टोरन्टो सिटी हलमा फहरिन्छ, त्यो क्षण केवल झण्डा फहरिने मात्र होइन—त्यो प्रवासमा बसेका हजारौं नेपालीहरूका भावना, सपनाहरू र पहिचान पनि उचाईमा पुग्नु हो।

    त्यस्तै फेरी पनि, नेपाली नयाँ वर्ष २०८२को पावन अवसर पारेर यहि अप्रिल १४ गतेक दिन बिहान १०:३० बजे नेपाली गौरव बोकेको हाम्रो राष्ट्रिय झण्डाकाे झण्डाेत्तोलन कार्यक्रम आयोजना हुने भएको छ। उक्त कार्यक्रम टोराेन्टाे सिटि हल, टोरोन्टाेमा हुँदैछ भने आयोजक संस्था नेप्लिज क्यानेडियन कम्युनिटि सर्विसेज (एन.सि.सि.एस) हो।आफ्नो स्थापनाकाल देखि नेपाली कला, संस्कृति, पहिचान र अस्तित्वलाई क्यानडामा संरक्षण अनि प्रबर्द्धन गर्दै आएको अग्रज संस्था नेप्लिज क्यानेडियन कम्युनिटि सर्विसेज (एन.सि.सि.एस) ले गतवर्ष पहिलो पटक झण्डाेत्तोलन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो भने यो दोश्रो कार्यक्रम रहनेछ।

    प्रवासको व्यस्त जीवनका बीचपनि आफ्नो राष्ट्र र राष्ट्रियता जोगाउन यस्ता कार्यक्रममा अग्रसर भएर लागिरहेको र सदैव लागिरहने, एन.सि.सि.एसका महासचिव सुदर्शन सापकोटाले बताउनुभएको छ। नेपालीहरूको अभिभावक संस्था, एन.सि.सि.एस आफ्नो स्थापनाकालदेखि नै नेपाली संस्कृति, परम्परा, भाषा, र सम्पदालाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अभियानमा अग्रसर रहँदै आएको छ। आगामी दिनमा पनि अझै यस्ता कार्यक्रम आयोजना गरिने र आफू आफ्नो समुदायको हकहित र प्रबर्द्धनमा सदैव प्रतिबद्ध रहेको संस्थाकि संस्थापक तथा वर्तमान अध्यक्ष विना बर्माले जानकारी दिनुभएको छ।

    बहुसांस्कृतिक राष्ट्र क्यानडाको मुटु टोरन्टो, अनि टोरन्टोको व्यस्त शहरबीच नेपाली झण्डा फहराइँदै गर्दा, यसले नेपाली समुदायको पहिचानलाई नयाँ उचाइमा पुर्याउने त पक्का छ, साथै नेपालीहरुलाई आफ्नोपन को आभाष गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ। नेपालबाट टाढा रहेर पनि हाम्रो संस्कृति, परम्परा, र राष्ट्रिय गौरवलाई जीवन्त राख्न एन.सि.सि.एस ले खेलेको भूमिकाले सम्पूर्ण नेपाली समुदायलाई गर्वको अनुभूति गराउँछ।

    यस झण्डा फहराइने समारोहले प्रवासी नेपालीहरूलाई आफ्नो पहिचान झल्काउन मात्र नभई, विश्वभरका मानिसहरूसमक्ष नेपाललाई चिनाउने एक महत्वपूर्ण अवसर प्रदान गर्नेछ। नेपालीहरूका लागि यो कार्यक्रम मातृभूमिप्रतिको प्रेमको प्रतीक हो, भने विदेशीहरूका लागि यो नेपाल र नेपाली समुदायबारे बुझ्ने अवसर हो।

    यो एन.सि.सि.एस मात्र नभई सबै क्यानडावासी नेपालीहरुको आफ्नो कार्यक्रम भएकाले, यस गौरवमय क्षणमा सम्पुर्ण क्यानडावासी नेपालीहरुलाई उत्साहजनक सहभागी हुन महासचिव सापकोटाले आग्रह गर्नुभएको छ। संस्कृतिको जगेर्ना गर्दै एन.सि.सि.एस जस्तो संस्थाले नेपाल र नेपालीपनलाई जीवित राख्ने कार्य गर्दै आएको छ, जसको उच्च सम्मान गरिनुपर्दछ।