विजय अधिकारी
टोरोन्टो, क्यानडा। क्यानाडेली नेपाली समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्रका रूपमा स्थापित “पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो को पुनर्निर्माणको पवित्र उद्देश्य बोकेर, उक्त मन्दिर र हिमालयन भाईब्स व्यान्डकाे संयुक्त आयोजनामा हुन लागेको विशेष लाइभ सांगीतिक साँझको तयारी अब अन्तिम चरणमा पुगेको छ। उक्त कार्यक्रम आउँदो मे ३१, २०२५ शनिबारका दिन स्कारबोरोस्थित केनेडि कन्भेन्सन सेन्टरको सभाहलमा आयोजना हुन गईरहेको छ।
कार्यक्रमको मूल उद्देश्य मन्दिरको पुनःनिर्माणका लागि आर्थिक संकलनका साथै नेपाली धर्म, संस्कृति, कला र प्रवासी पहिचानको संरक्षणमा सामूहिक संकल्पलाई पुनः उजागर गर्नु रहेको आयोजक पक्षले जानकारी दिएको छ। मन्दिर हामीलाई आस्था, आश्रय र एकता प्रदान गर्ने थलो भएकाले यसको पुनर्निर्माण हामी सबैको साझा जिम्मेवारी हो भन्ने भावनाका साथ कार्यक्रमको आयोजना गर्न लागिएको छ।
“कार्यक्रमका लागि धमाधम टिकट विक्री हुनुका साथै प्रशासकिय एवं व्यवस्थापकिय पक्ष लगभग अब अन्तिम तयारीमा पुगिसकेको, पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कार्बोरोका सचिव निल पौडयालले बताउनुभएको छ। साथै नेपाली समुदायका अभिभावक एवम् अग्रज व्यक्तित्वहरु, नेपाली समुदायका हकहितका लागि क्यानडामा स्थापना भएका विभिन्न संघसंस्थाहरुको पनि राम्रो साथ, सहयोग र हौसला प्राप्त भईराखेको उहाँले जानकारी दिनुभएको छ।
प्रवासको व्यस्त जिवनलाई थोरै बिट मार्दै साङ्गितिक मनोरञ्जन अनि साथीभाईहरु सङ्गको भेटघाट सङ्गै धार्मिक कार्यमा योगदान पनि पुर्याउन सकिने भएकाले यो विशेष अवसरमा सहभागी भई, सामाजिक काममा हामी नेपालीहरु सदैव अग्रसर रहन्छौ भन्ने कुरा दर्शाउन पनि कार्यक्रममा सबैको सहभागिताका लागि पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कार्बोरोकि अध्यक्ष अरुणा पौड्यालले आग्रह गर्नुभएको छ।
सहभागी दर्शक श्रोताहरुले उक्त कार्यक्रममा प्रत्यक्ष नेपाली मौलिक लोक गीत सङ्गीत अनि शुद्ध नेपाली खानाको आनन्द लिन सक्नुहुनेछ। उक्त साङ्गितिक साँझमा नेपालको चर्चित म्युजिक व्यान्ड “नेपथ्य” को देखि नयाँ तथा पुराना पुस्तालाई जोड्ने करिव २३ वटा लोकप्रिय गीतसङ्गीत जस्मा मारुनी, कौडा, सालैजोका कालजयी भाकाहरु प्रस्तुत गरिने र उक्त प्रस्तुती क्यानडियन नेपाली समुदायको चर्चित साङ्गितिक संस्था “हिमालयन भाइब्स व्यान्ड” मा आवद्ध स्थानिय कलाकारहरुद्वारा रहने साङ्गितिक समुहका रविन्द्र घिमिरेले बताउनुभएको छ। “हिमालयन भाईब्स व्यान्डकाे संयोजकत्वमा विगत ४ महिना देखि प्रत्येक आईतबार मन्दिरकै प्राङ्गणमा साङ्गीतिक अभ्यास भईराखेको कारण कार्यक्रम एकदमै भव्य रहने र उक्त तयारी पनि अब रिहर्सलकै क्रममा रहेको कार्यक्रमका अर्का संयोजक मोहन थापाले जानकारी दिनुभएको छ।

हिमालयन भाईब्स व्यान्डले आफ्नो स्थापना कालदेखि नेपाली समुदायमा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिँदै आएको छ। उक्त व्यान्डले गत वर्ष “गोपाल योन्जन स्मृती साँझ” सफलतापुर्वक सम्पन्न गरेको थियो। उक्त कार्यक्रमको अनुभव सङ्गाल्दै यो कार्यक्रमका लागि अझ बढी मेहेनत गरी आफु पुर्णरुपमा कार्यक्रम लक्षित रहेको र आफ्नो टिमको पनि राम्रो साथ पाएको, हिमालयन भाईब्सका वरिष्ठ वाद्य प्रशिक्षक सानुराजा महर्जनले जानकारी दिनुभएको छ।
यो सांगीतिक साँझ नयाँ र पुराना पुस्ताबीचको सांगीतिक सेतु बन्दै नेपाली संस्कृति, स्मृति र सम्वेदनालाई एकसाथ जोड्ने एउटा दरिलो माध्यम बन्ने आशा राखिएको छ। मन्दिरको पुनर्निर्माणजस्तो पवित्र अभियानमा सहभागी हुँदै, दर्शकहरूले सजीव सांगीतिक प्रस्तुतिहरू, उत्साहपूर्ण माहोल र सामाजिक मेलमिलापको अवसर पनि पाउनेछन्।
मन्दिरको पुनर्निर्माण हुनु भनेको हाम्रो सन्ततिलाई सांस्कृतिक सम्पदा सुम्पिने मौका पनि हो।
उक्त कार्यक्रममा क्यानाडामा सक्रिय नेपाली सामाजिक संस्था, अभियन्ता र प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहनेछ। कार्यक्रमलाई लिएर उत्साह, समर्थन र शुभेच्छा प्राप्त भइरहेको आयोजक पक्षले जनाएको छ।
त्यस्तै आयोजक टोलीका अनुसार अब बाँकी रहेका कार्यहरूमा हलको सजावट, स्टेज व्यवस्थापन, अडियो–लाइटिङ सेटअप आदि रहेको र सो पनि मिति नजिकिँदै गर्दा पूरा गरिने जनाइएको छ।
कार्यक्रममा उपस्थित हुनु केवल टिकट किनेर कार्यक्रम हेर्ने मात्र होइन, हाम्रो सामूहिक योगदानको एक ऐतिहासिक क्षण पनि हुनेछ। त्यस्तै यो धार्मिक अवसर पनि रहनेछ जहाँ सहभागी भएर पुण्य सँगाल्न सकिनेछ। त्यस्तै यो सांस्कृतिक मेल हो, जसले हाम्रो संगीत, भावना र पहिचानलाई जिउँदो राख्दछ। अनि, यो रमाइलोको घडी हो, जहाँ ब्यस्त जीवनशैलीबाट एक साँझको फुर्सद निकालेर आफूलाई सामुदायिक हितका लागी समर्पित गर्न सकिनेछ। कार्यक्रमको टिकटका लागि मन्दिरको ईमेल ठेगाना pashupatitemplescarborough@gmail.com मा टिकट मूल्य $५० ईन्टर्याक्ट गर्न सकिनेछ भने १० वर्ष मुनिका बालबालिकाहरुका लागि निशुल्क रहेको छ।
तसर्थ, टोरन्टोवासी सम्पूर्ण नेपाली समुदायलाई, यो भव्य सांगीतिक साँझमा आफ्नो उपस्थिति र सहभागिता जनाई, पशुपतिनाथ तथा बुद्ध मन्दिरको पुनर्निर्माण अभियानमा ऐतिहासिक भूमिका निभाउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।