CanadaKhabar.com

Monday, December 15, 2025 -

NRNA क्यानडाको आर्थिक पारदर्शिता र समुदाय विकासका लागि मेरो संकल्प

बिदुर केसी
कोषाध्यक्ष उम्मेद्वार

क्यानाडामा बसोबास गर्ने हामी नेपालीहरूको एउटा साझा सपना हो — पहिचानको संरक्षण, समृद्ध भविष्यको
निर्माण र संगठित, सक्षम समुदायको स्थापना। आजको परिवेशमा, जब NRNA क्यानडाको नेतृत्वमा नयाँ
पुस्ताको ऊर्जा, अनुभवी मार्गदर्शन र संस्थागत सुधारको खाँचो तीव्र रूपमा महसुस भइरहेको छ, म NRNA
Canada 2025–27 कार्यकालको कोषाध्यक्ष (Treasurer) पदका लागि मेरो उम्मेदवारी प्रस्तुत गर्दछु। साथै
यस कार्यकालमा म वित्तीय पारदर्शिता, उत्तरदायित्व र सबै समुदायको सक्रिय सहभागितामा आधारित
संस्थागत सुदृढीकरणमा विशेष ध्यान केन्द्रित गर्नेछु।


म समुदायमा नयाँ हैन। स्वयंसेवा, नेतृत्व र संस्थागत कामको अनुभव मैले स्थानीय स्तरमा नतिजासहित
प्रमाणित गरिसकेको छु। Toronto लगायत GTA का विभिन्न संस्थाहरूमा मेरो निरन्तर सहभागिता, सेवा
भावना र जिम्मेवारीप्रतिको निष्ठाले मलाई यहाँसम्म ल्याएको हो।
विगत एक दशकभन्दा लामो समयदेखि म नेपाली संस्थागत विकास र वित्तीय व्यवस्थापनको क्षेत्रमा सक्रिय
रूपमा संलग्न छु। 2014 देखि 2023 सम्म मैले Nepalese Canadian Community Services (NCCS) मा
सचिव, अध्यक्ष र सल्लाहकारका रूपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु। साथै, Toronto
Nepali Sports Club (TNSC) को बोर्ड सदस्यको रूपमा, म खेलकुद, युवा सहभागिता र सामाजिक एकता
प्रवर्द्धन गर्दै आएको छु।


अब समय आएको छ — यो अनुभवलाई स्थानिय सीमाबाट निकालेर सम्पूर्ण क्यानाडा स्तरमा विस्तार गर्ने। मैले
स्थानीय क्षेत्रमा देखाएको प्रतिबद्धता र नतिजामूलक कार्यशैलीलाई राष्ट्रिय जिम्मेवारीमा पनि निरन्तरता दिन
चाहन्छु। मेरो यात्रा अब स्थानीय सफलताको आधारमा, राष्ट्रिय उत्तरदायित्वतर्फको दृढ कदम हो।
म कोषाध्यक्षको भूमिकालाई केवल लेखा जोखा र संख्यामा सीमित नगरी, यसलाई वित्तीय पारदर्शिता,
संस्थागत मजबुती, र दीर्घकालीन समुदाय सशक्तिकरणको आधार बनाउने लक्ष्य लिएको छु। NRNA कोषमा
आउने हरेक डलर कहाँबाट आयो, कसरी र किन खर्च गरियो, कति संचित गरियो भन्ने सम्पूर्ण विवरण प्रत्येक
तीन महिनामा सार्वजनिक प्रतिवेदनमार्फत प्रस्तुत गरिनेछ। यस्तो अभ्यासले विश्वास, पारदर्शिता र
जवाफदेहितालाई संस्थाको मूल मूल्यका रूपमा स्थापित गर्न मद्दत गर्नेछ। मेरो प्राथमिकता भनेकै, समावेशी
सोचका साथ सुसंगठित आर्थिक रणनीतिमा आधारित दीर्घकालीन योजना तयार पार्दै, समुदायको दिगो
विकासमा टेवा पुर्‍याउनु हो।


फण्ड संकलन र स्रोत व्यवस्थापन मेरो प्रमुख प्राथमिकता हुनेछ, र यो केवल सोच मात्र नभई व्यवहारिक रूपमा
कार्यान्वयन गर्न सकिने स्पष्ट रणनीति हो। क्यानाडामा रहेका थुप्रै बैंक, टेलिकम, खुद्रा व्यापार र ठूला
कम्पनीहरूसँग Corporate Social Responsibility (CSR) कार्यक्रमअन्तर्गत सामाजिक र सांस्कृतिक
परियोजनाहरूलाई आर्थिक सहयोग गर्ने नीति हुन्छ। म अहिले नै यस्ता कम्पनीहरूमा कार्यरत नेपाली
पेशेवरहरूसँग समन्वयमा छु, जसले NRNA मार्फत समुदायलाई लक्षित परियोजनामा फण्ड ल्याउन सक्ने
सम्भावना देखिएको छ। त्यस्तै, Trillium Foundation, Canadian Heritage, MCCG, ESDC लगायतका

संघीय र प्रान्तीय सरकारी निकायहरूद्वारा प्रदान गरिने Grants को प्रक्रिया बुझेर एक दक्ष टोलीमार्फत
योजनाबद्ध रूपमा आवेदन दर्ता, अनुगमन र प्रतिवेदनको व्यवस्थापन गरिनेछ।
साथै, समुदाय आफैंबाट संलग्न हुने अवसरको रूपमा Fundraising Gala, Walkathon, Cultural Shows,
Nepali New Year Concert, Raffle Draws जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन्, जसले आर्थिक
संकलनसँगै सामाजिक एकता र सहभागिताको भावना पनि बलियो बनाउनेछ। यी सबैसँगै, स्वैच्छिक सदस्यता
योगदान (Voluntary Contribution Model) लाई पारदर्शी रूपमा सञ्चालन गरिनेछ, जहाँ प्रत्येक
योगदानकर्तालाई रसीद, प्रगति विवरण र सम्मान प्रदान गरिनेछ। यसरी संस्थागत, सरकारी र सामुदायिक
स्रोतहरूको समन्वयबाट खेलकुद, संस्कृति, शिक्षा, महिला तथा युवा सशक्तिकरण र समुदाय विकास जस्ता
कार्यका लागि दिगो, विश्वसनीय र पारदर्शी आर्थिक आधार निर्माण गर्न सकिन्छ, र मैले यो सबै सम्भव छ भनेर
स्थानीय स्तरमा गरिसकेको कामबाट प्रमाणित समेत गरिसकेको छु।


2019–21 को कार्यकालमा NRNA क्यानाडाले आयोजना गरेको Sports Week कार्यक्रम नेपाली डायस्पोराको
इतिहासमा एक प्रेरणादायी उपलब्धि बन्यो, जसले सबै उमेर समूहका नेपालीहरूलाई एउटै मञ्चमा ल्याएर
सहकार्य, सहभागिता र सामुदायिक ऊर्जा प्रदर्शन गर्न सफल भयो। Treasurer पदमा निर्वाचित भएपछि, म उक्त
कार्यक्रमलाई Sports Week 2.0 को रूपमा पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता लिएको छु, जसअन्तर्गत हरेक
वर्ष GTA वा विभिन्न प्रान्तहरूमा खेलकुद सप्ताह आयोजना गरिनेछ। यसले समुदायबीचको आपसी सम्बन्ध,
स्वास्थ्यप्रति जागरुकता, र युवा सहभागिता सशक्त पार्न ठूलो टेवा पुर्‍याउने विश्वास लिएको छु।


प्रत्येक वर्ष हजारौं नयाँ आप्रवासी र विद्यार्थीहरू क्यानाडाको विभिन्न प्रान्तहरूमा आइपुग्छन्, जसले ट्याक्स
फाइलिङ, बैंकिङ, CRA प्रक्रिया, र वित्तीय योजनाजस्ता विषयहरूमा ठूला चुनौतीहरू सामना गर्नुपरेको हुन्छ।
यी समस्यालाई समाधान गर्न, म क्यानाडा-भरिका प्रमुख शहरहरूमा वित्तीय साक्षरता अभियान (Financial
Literacy Campaigns) सञ्चालन गर्ने योजना लिएर आएको छु। साथै, Free Tax Filing Camps, आर्थिक
परामर्श सहायता केन्द्रहरू र बजेटिङ, क्रेडिट स्कोर, Student Benefit लगायतका विषयमा कार्यशाला
कार्यक्रमहरू सञ्चालन गरिनेछ, जसबाट विशेषतः नयाँ विद्यार्थीहरू, आप्रवासीहरू र अल्पआय भएका
नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यसरी, आर्थिक विषयमा सचेत र सक्षम नेपाली समुदाय निर्माण
गर्न म सधैं अग्रसर रहनेछु।
Greater Toronto Area (GTA) मा स्थायी “Nepali Community House” निर्माण गर्नु हाम्रो पुस्ताको
ऐतिहासिक कार्य हुनेछ — जसले क्यानाडामा रहेका सबै नेपालीहरूलाई एक साझा थलो प्रदान गर्नेछ। यो
सामुदायिक घर नेपाली भाषा, संस्कृतिको संरक्षण, योगा कक्षा, महिला सशक्तिकरण कार्यक्रम, वृद्ध–सेवा,
बालबालिका केन्द्र, Crisis Support Desk, र सामूहिक छलफल कक्ष जस्ता सामाजिक, सांस्कृतिक र मानसिक
स्वास्थ्यसम्बन्धी सेवाहरूको केन्द्र बन्नेछ।


यस महत्त्वाकांक्षी योजनाका लागि मैले पूर्वाधार विकास खाका, सम्भावित स्थानहरूको अध्ययन, प्रारम्भिक
लागतको अनुमान, र फण्ड संकलनका व्यावहारिक स्रोतहरू पहिचान गरिसकेको छु। NRNA कोषमा पारदर्शी र
लक्ष्यमुखी बजेट छुट्याएर, सरकारी ग्रान्टहरू (जस्तै: Trillium Foundation, MCCG, Heritage Fund),
Corporate CSR फन्डहरू र व्यक्तिगत तथा संस्थागत दातृत्व समावेश गरेर यो सपना साकार पार्न मेरो दृढ
प्रतिबद्धता रहनेछ। यो भवन केवल भौतिक संरचना हैन, यो हाम्रो एकता, पहिचान र भविष्यको जग हुनेछ।

मेरो नेतृत्वमा NRNA क्यानाडाको आर्थिक प्रणाली पारदर्शी, सहभागी र उद्देश्यकेन्द्रित हुनेछ। हरेक सदस्यले
बजेट, खर्च र उपलब्ध फण्डको जानकारी प्रत्यक्ष रूपमा पाउनेछन्, जसले संस्थामा विश्वास, जवाफदेहिता र
स्वामित्व भावना थप मजबुत बनाउनेछ। विगतमा मैले देखाएको समर्पण, जिम्मेवारी र नेतृत्व नै मेरो क्षमताको
प्रमाण हो — म केवल उम्मेदवार होइन, काम गरेर देखाइसकेको व्यक्ति हुँ।


अब यो यात्रा अझ फराकिलो बनाउने बेला आएको छ — तपाईंको साथ, तपाईंको मत, र तपाईंको विश्वासले
NRNA क्यानडालाई पारदर्शी, सबल र समावेशी संस्था बनाउने हाम्रो साझा लक्ष्यलाई साकार पार्नेछ। सशक्त
नेतृत्व र वित्तीय अनुशासनका लागि, मलाई Bidur KC लाई तपाईंको अमूल्य मत दिनुहोस्।