सन्तोष दाहाल
वरिष्ठ उपाध्यक्ष उम्मेद्वार
नेतृत्व पद केवल हैसियतको विषय होइन, यो त समुदायप्रतिको समर्पण, उत्तरदायित्व र सेवाको प्रतीक हो। म, एनआरएनए क्यानाडाको वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारका रूपमा एक यस्तो नेतृत्व प्रस्तुत गर्न चाहन्छु, जुन घोषणामा होइन, कार्यमा आधारित हो; केवल अभिव्यक्तिमा होइन, प्रतिबद्धता र परिणाममा आधारित हो।

मेरो अभियानको केन्द्रबिन्दु — साझा एजेन्डामा आधारित परिवर्तन हो।
यी प्रस्तावहरू कुनै एकपक्षीय घोषणापत्र होइनन्। यी त हामी नेपाली समुदायसँगको दीर्घ संवाद, अनुभव र सहभागिताबाट जन्मिएका सुझाव र आवश्यकता हुन्।
१. एनआरएन क्यानाडालाई च्यारिटेबल संस्था बनाउने लक्ष्य:
अब समय आएको छ, जब हाम्रो संस्था केवल सामाजिक संगठन होइन, विश्वसनीय संस्थागत संरचना बनोस्। CRA अन्तर्गत च्यारिटेबल संस्था बनाउँदा, सरकारी अनुदान, कर छुट, र अन्तर्राष्ट्रिय विश्वसनीयता प्राप्त हुनेछ। यसले एनआरएन क्यानाडाको सेवा पहुँच र प्रभाव बढाउनेछ।
२. संस्थागत सुधार र बाइलज संशोधन:
संस्थाको मूल कानुन (Bylaws) समयसँगै परिमार्जन हुनुपर्छ। अस्पष्टता, प्रतिनिधित्वको सीमितता, र समावेशीकरणको अभाव हटाइनेछ। सबै सदस्यको सहभागिता सुनिश्चित गर्दै, टाउनहल र सल्लाहमार्फत पारदर्शी संशोधन प्रक्रिया अघि बढाइनेछ।
३. एनआरएन नागरिकताको व्यवहारिक कार्यान्वयन:
एनआरएन नागरिकता हामी सबैको पहिचान र हक–अधिकारको सुरक्षा हो। मेरो नेतृत्वमा यो विषयलाई केवल उठाउने होइन — नेपाल सरकारसँग नीति संवाद, समन्वय र प्रभावशाली लबिङ गरेर कार्यान्वयनको चरणमा पुर्याइनेछ।
४. नयाँ आप्रवासी र विद्यार्थीहरूका लागि Transition Hubs र Nepali Heritage School:
क्यानाडा भित्रिने नयाँ नेपाली आप्रवासी र विद्यार्थीहरूका लागि “Transition Hubs” स्थापना गरिनेछन्। साथै, नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोड्न “Nepali Heritage School” सुरु गरिनेछ।
५. मोबाइल कन्सुलर सेवा र पहुँचयोग्य राहदानी सेवा:
नेपाली दूतावाससँगको सहकार्यमा प्रमुख शहरहरूमा “Mobile Consular Camps” सञ्चालन हुनेछ, जसले राहदानी नवीकरण, नागरिकता प्रमाणपत्र, लगायतका सेवाहरूलाई सहज बनाउनेछ।
६. आपतकालीन सहायता कोष:
अब हरेक आपतकालीन अवस्थामा GoFundMe को भर पर्ने दिन सकिन्छ। संस्थागत “Emergency Relief Fund” को स्थापना गरी आवश्यक समयमा सशक्त सहयोग गरिनेछ।
७. पारदर्शिता र उत्तरदायित्वका लागि SMART नेतृत्व मूल्याङ्कन:
नेतृत्वको मूल्याङ्कन अब केवल भाषण र प्रचारबाट होइन, SMART मापन प्रणालीबाट गरिनेछ। यसले कार्यक्षमता, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नेछ।
८. डेटा सुरक्षामा शून्य सहनशीलता नीति:
सदस्यको व्यक्तिगत वा संस्थागत जानकारीको दुरुपयोगलाई पूर्णरूपमा निषेध गरिनेछ। कडा साइबर सुरक्षा र निगरानी संयन्त्र लागू गर्दै, कानुनी कारबाही सुनिश्चित गरिनेछ।
हाम्रो साझा सपना — पारदर्शी, समावेशी र उत्तरदायी एनआरएन क्यानाडा
म विश्वास गर्छु, नेतृत्वले अनुहार मात्र होइन, सोच, संस्कार र संरचना बदल्न सक्छ। म तपाईंहरूकै बीचबाट आएको एक साधारण नेपाली हुँ, जसले सधैं समुदायको सेवा, आवाज र अधिकारका पक्षमा काम गरेको छु।
अब हाम्रो संस्था केवल कार्यक्रम गर्ने होइन, नतिजा दिने बनोस्। केवल भेला गर्ने होइन, समाधान दिने बनोस्।
अबको नेतृत्व — सेवामा समर्पित, नतिजामा आधारित।
अबको एनआरएन — सबै नेपालीका लागि, सबैको प्रतिनिधित्वसहित।
म तपाईंहरूको साथ, विश्वास र समर्थनको अपेक्षा गर्दछु — ताकि हामी सँगै एक सशक्त, समावेशी र गर्विलो एनआरएन क्यानाडा निर्माण गर्न सकौं।
जय नेपाली, जय एनआरएन !
