१७ औं हिमालयन मेलाबारे नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) का महासचिव सुदर्शन सापकोटासँग विशेष कुराकानी –
आफ्नो स्थापना स्थापनको २५ औं बर्षगाँठ अर्थात रजत जयन्ती पारेर उत्तर अमेरिकाकै सबैभन्दा बृहत मेला मानिदै आएको नेपाली मेला “हिमालयन मेला” को यसपटकको १७ औं संस्करण क्यानडाको मुख्य शहर टोरोन्टोको डाउनटाउन स्थित नेथन फिलिप स्क्वायरमा भब्यताकासाथ मनाउने तयारीमा जुटेको आयोजक संस्था नेपलीज कम्युनिटी सर्भिसेज (NCCS) का महासचिव सुदर्शन सापकोटासंग कार्यक्रमको तयारीका सन्दर्भमा सहकर्मी मदन बस्नेतको बिशेष कुराकारी-
१) यसपटक मनाउन लागिएको १७ औं हिमालय मेला अन्य बर्षको भन्दा कसरी पृथक छ यसको विशेष आकर्षण के हो ?
– यसपटकको १७ औं संस्करणको हिमालयन मेला हाम्रो आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) को स्थापनको २५ औं बर्षगाँठ अर्थात रजत जयन्तीमा परेको हुनाले यसपटकको मेला अन्य बर्षहरुको भन्दा स्वभावैले पृथक र भब्य हुनेछ।
मेलामा यस हामीले नेपाली लोकसंगितका सर्बाधिक चर्चामा रहेका र भ्वाइस अफ नेपाल सिजन ६ र भ्वाइस अफ किड्स सिजन २ का कोच खेम सेन्चुरीलाई प्रमुख आकर्षणको रुपमा निम्त्याउँदैछौं।
त्यस अलावा नेपालका विविध जातीय समुदायहरूले प्रस्तुत गर्ने सांस्कृतिक नृत्य, समुदाय प्रतिनिधित्व हुने सामुदायिक परेड (Community Parade) र स्थानीय ब्यान्डहरूको लाइभ संगीत प्रस्तुति पनि कार्यक्रमको महत्वपूर्ण आकर्षण हुनेछन्। यी सबै कार्यक्रमहरूले नेपाल र नेपाली समुदायको विविधता, एकता र सान्दर्भिकतालाई उजागर गर्ने हामीले बिश्वास गरेको छौं।
२) कार्यक्रम कहाँ, कहिले सुरु हुनेछ र कतिखेर समापन हुनेछ ? कार्यक्रमको कार्यतालिका बताइदिनुहुन्छ कि ?
– मेला अगस्ट ९, २०२५ (शनिबार) को दिन दिउँसो ठीक १:०० बजे औपचारिक रूपमा सुरु हुनेछ। सम्पूर्ण कार्यक्रमहरू साँझसम्म चल्नेछन् र मेला राति ९:०० बजे सम्म औपचारिक रूपमा सम्पन्न गरिनेछ। कार्यक्रमको समय व्यवस्थापन निकै संयोजित ढंगले गरिने तयारी छ।

३) कार्यक्रममा के कस्ता सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिने छन्?
– नेपालका विभिन्न जातीय तथा भाषिक समुदायहरूको पहिचान झल्काउने सांस्कृतिक झाँकीहरू कार्यक्रमको एक अभिन्न हिस्सा हुनेछन्। झाँकीहरूमा समुदाय विशेषका परम्परागत पहिरन, चालचलन, सांस्कृतिक प्रतीकहरू, र नृत्य शैली प्रस्तुत गरिने छन्, जसले नेपालभित्रको विविध सांस्कृतिक धरोहरलाई दर्शकसामु उजागर गर्नेछ।
४) परेडमा र मंचमा कुन–कुन जातीय तथा सांस्कृतिक प्रस्तुति रहनेछ र कति संघ संस्था सहभागी हुने अनुमान छ ?
– मेलामा नेवा, तामाङ, थारु, गुरुङ, मधेसी लगायतका प्रमुख जातीय समुदायहरूले आफ्ना परम्परागत नृत्य, भेषभूषा र सांगीतिक प्रस्तुति दिने तयारी गरेका छन्। यी प्रस्तुति विभिन्न समुदाय–संस्थाहरूको सहकार्यमा प्रस्तुत गरिनेछन्। हालसम्म दर्जनौं नेपाली समुदायिक तथा सांस्कृतिक संस्थाहरूले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्, र थप संस्थाहरू पनि संलग्न हुने क्रम जारी छ।
५) कार्यक्रममा अतिथि वा प्रमुख अतिथिका रूपमा क–कसलाई निमन्त्रणा गरिएको छ?
– कार्यक्रमलाई गरिमा सम्पन्न बनाउन क्यानाडाका माननीय प्रधानमन्त्री, प्रान्तीय प्रिमियर, संघीय सांसदहरू (MP), प्रान्तीय सांसदहरू (MPP), टोरन्टो सिटीका मेयर, र नगरस्तरीय प्रतिनिधिहरू समेतलाई प्रमुख अतिथि तथा सम्माननीय अतिथिका रूपमा औपचारिक निमन्त्रणा पठाइएको छ। उनीहरूको उपस्थिति मेलालाई अझ व्यापक र सशक्त बनाउने विश्वास गरिएको छ।
६) कति दर्शकले कार्यक्रम अवलोकन गर्ने अपेक्षा गरिएको छ?
– यसपटकको मेलामा १०,००० भन्दा बढी दर्शक आउने अपेक्षा गरिएको छ। कार्यक्रमस्थल खुला र सुगम स्थानमा भएकाले इन एन्ड आउट गरेर दिनभरमा करिब १० हजारदेखि १२ हजार दर्शकहरू कार्यक्रमको अवलोकन गर्ने सम्भावना छ। अघिल्ला वर्षहरूमा मेलाले उल्लेखनीय जनसमूहलाई आकर्षित गरेको थियो, र यो वर्ष अझ व्यापक सहभागिता हुने विश्वास गरिएको छ।
७) खेम सेन्चुरीको बिशेष प्रस्तुतिको अलावा गायन र नृत्य तर्फ अरु क–कसले प्रस्तुति दिनेछन् ?
– यस मेलामा एकल कलाकारहरूभन्दा बढी सांस्कृतिक समूहहरू, स्थानीय ब्यान्डहरू, पञ्चेबाजा समूहहरू, तथा भजन समूहहरूले प्रस्तुति दिनेछन्। प्रत्येक प्रस्तुति सामूहिक ढंगको हुनेछ, जसले समुदायको सहभागिता, समावेशिता र विविधतालाई अझ स्पष्ट रूपमा प्रस्तुत गर्नेछ। सांस्कृतिक नृत्य, परम्परागत बाजागाजा, र लोकसंगीत मार्फत नेपाली मौलिकता झल्किनेछ। हिमालयन भाइब्स, बाग्लुङ सेवा समाजको पन्चे बाजा र नेवा गुठीद्वारा प्रस्तुत गरिने लाखे नाच अझ बिशेष रहनेछ्न्।
८) कार्यक्रम सम्पन्न गर्न कति स्वयंसेवक (volunteers) खटाइनेछन् ? त्यसको तयारी कस्तो छ ?
– कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न ५० भन्दा बढी स्वयंसेवकहरू परिचालन गरिनेछन्। यस वर्ष स्वयंसेवकहरूको लागि विशेष अभिमुखिकरण (orientation) कार्यक्रम आयोजना गरिनेछ, जसले उनीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न सहज बनाउनेछ। स्वयंसेवकहरू कार्यक्रम व्यवस्थापन, दर्शक व्यवस्थापन, स्टल समन्वय, सुरक्षा र सूचना व्यवस्थापन जस्ता विविध पक्षमा सक्रिय रहनेछन्।
९) खानाका स्टलहरू कति रहनेछन्? कुन–कुन फुड भेन्डरहरूले नाम दर्ता गरिसकेका छन्?
– मेलामा २० वटा फुड स्टलहरू रहने पक्का भइसकेको छ। ती स्टलहरूमा नेपाली परिकारहरू (जस्तै म:म:, सेलरोटी, आलु आचार आदि), बर्गर, फ्राइज, जुस, आइसक्रिम लगायतका खाद्य सामग्रीहरू उपलब्ध हुनेछन्। केही चर्चित फुड भेन्डरहरूले पहिल्यै स्थान सुरक्षित गरिसकेका छन् भने बाँकी स्थानहरूमा दर्ता प्रक्रिया जारी छ।
१०) फुड स्टल बाहेक मेलामा अरु कस्ता कस्ता स्टलहरू रहनेछन्?
– खानाका स्टलबाहेक मेलामा १० भन्दा बढी अन्य व्यवसायिक तथा सेवा–सुविधा सम्बन्धी स्टलहरू रहनेछन्। तीमध्ये कन्सल्टिङ सेवा, रियल स्टेट, इमिग्रेशन सर्भिस, इन्स्योरेन्स कम्पनी, गहना व्यवसाय, थाङ्का तथा हस्तकला बिक्री, कपडा व्यवसाय, आइसक्रिम र जुस स्टलहरू समावेश हुनेछन्। यसले नेपाली समुदायसँग सम्बन्धित व्यवसायहरूलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ।
११) अन्तमा संस्थाको तर्फबाट क्यानेडेली नेपाली समुदायलाई केही भन्नू छ कि ?
– क्यानाडाको भुमिमा नेपाल र नेपालीलाई चिनाउने र हाम्रो उपस्थितिलाई क्यानेडियन मूलप्रवाहमा समाहित गर्न दबाद सृजना गर्ने सबैभन्दा सौम्य र भद्र कार्यक्रम सायद हामीले बिगत १६ बर्षदेखि आयोजना गर्दै आएको हिमालय मेला भन्दा अरु नहोला। त्यसैले यसपटकको १७ औं हिमालयन मेलालाई सभ्य र भब्य रुपले सफल बनाउन र टोरोन्टोको आकाशमा नेपालीको पहिचानलाई बुलन्द गर्न अगस्ट ०९ शनिबार क्यानाडा जिटिएमा बसोबास गर्ने सबै नेपालीजनहरुमा संस्थाको तर्फबाट चुल्हे निम्तो सहितको हार्दिक निमन्त्रणा छ।
प्रस्तुती : मदन बस्नेत

