गोकर्ण लामिछाने – टोरोन्टो
एनआरएन चुनाव ‘झोलाको कार्यालय विस्थापन गरेर एनआरएनए क्यानडाको आफ्नै माटो किन्ने योजना’
काठमाडौंमा पत्रकारिता गर्दागर्दै क्यानडा आईपुगेका जगन सापकोटा करिब ११ वर्षदेखी क्यानडामा संघर्ष गरिरहेका छन् । २०१४ को अक्टोबर १५ मा उनी क्यानडामा ल्यान्ड भएका थिए । क्यानडा आएको लामो समयपछि जगन नेपालबाट आएर यहाँ बस्ने झन्डै १ लाख नेपालीको नेतृत्व गर्ने ‘अठोट’ लिएर अघि बढेका छन् । बाग्लुङमा जन्मेहुर्केका सापकोटा आसन्न एनआरएनए क्यानडाको अध्यक्षको उम्मेद्वार हुन् । ब्राम्टन सिटी र आसपासलाई आफ्नो ‘जक्सन’ बनाएका सापकोटा क्यानडामा रेष्टुरेन्ट ब्याबसायी, रियल स्टेट सेल्सपर्सन,इन्भेष्टर र फाइनन्सियल एडभाइजरको रुपमा स्थापीत भएका छन् ।
बागलुङदेखि ब्राम्टनसम्म: सेवा, संघर्ष र सफलता
क्यानडा आएर उनले शुरुमा रेष्टुरेण्टहरुमा काम गरे । सापकोटा संझन्छन्, ‘रेस्टुरेन्टमा हेल्परको काम गर्दै सेफ भएँ, आफैंले रेष्टुरेण्ट खोलेँ ।’ विश्वव्यापी कोरोनाकाले लहर आएसँगै उनले रेष्टुरेण्ट व्यवसाय थाती राखेर रियल स्टेट कोर्स अध्ययन गरे । ‘कोरोनापछि झोला कसेर पढ्न हिँडेँ, अहिले रियल स्टेटको कोर्स पुरा गरेर अहिले सेल्सपर्सनको रुपमा कार्यरत छु’ सापकोटा भन्छन्, ‘अहिले म एभरेस्ट रियालिटी ब्रोक्रेजमा आबद्ध रहेर काम गरिरहेको छु ।’ रेस्टुरेन्टमा आफुले काम गर्दा पाएको जस्तो दुःख नेपालबाट आउने अरुले नपाउन भनेर सापकोटा अरुलाई सहयोग गर्न रुचाउँछन् । सहयोग गरिरहेका छन् । सापकोटालाई क्यानडामा मानिसहरुले ‘रियल स्टेट सेल्सपर्सन’को रुपमा बुझ्छन् । उनी अब लगानीको काम गर्नेगरी अघि बढेका छन् । भन्छन्, ‘अब इन्भेस्टमेन्टको काम पनि गर्छु ।’ रेष्टुरेण्टमा काम गर्दा वा रेष्टुरेण्ट चलाउँदा सापकोटा समयको चापमा हुन्थे । नेपाली समुदायमा पुग्न उनलाई धौधौ हुने गरेको थियो ।

पछिल्लो ५ वर्षयता उनले नेपाली समुदायले आयोजना गरेका हरेक कार्यक्रममा ‘स्पोन्सर’ गर्ने गरेका छन् । उनि थप्छन्, ‘अहिले हरेक प्रोग्राममा म पुगेको हुन्छु ।’ नेपाली समुदायको बिचमा सक्रिय जगन २०२३ मा भएको एनआरएनए चुनावमा ब्राम्टन सिटीबाट नेशनल काउन्सिल कमिटी सदस्यमा निर्वाचित भएका थिए । त्यसबेला उनले अत्यधिक मत ल्याए । सो मतलाई उनले आसन्न निर्वाचनको ‘आधार’ मानेका छन् । क्यानडाको अध्यक्षमा निर्वाचित भएर उनले आफुले गर्ने कामको खाका तयार गरिसकेका छन् । उनी भन्छन्, ‘त्यतिबेला मैले गर्ने कामहरु थुप्रै छन्, जुन काम एनआरएनए क्यानडाको लागी कोशेढुंगा साबित हुनेछ ।’ ‘सेल्फ ईम्प्लोइ’ जगनसँग समयको अभाव छैन् ।
एनआरएनए क्यानडालाई आफ्नै जग्गामा उभ्याउने सपना
नेपाली समुदायलाई दुःखमा पर्याप्त समय दिने उनको योजना छ । २००७ मा स्थापना भएको एनआरएनए क्यानडा आज १८ वर्ष पुरानो संस्था भैसकेको छ । तर, १८ वर्षमा सो संस्था झोलामा अफिस राखेर संचालन भइरहेको छ । जगन भन्छन्, ‘एनआरएनए क्यानडाको आफ्नो स्थायी ठेगाना छैन्, हामी यहाँ छौं भनेर स्थायी रुपमा संस्थाको ठेगाना बताउँन चाहन्छु ।’ झोलाको कार्यालय विस्थापन गरेर क्यानडामा आफ्नै माटो किनेर ‘बिल्डिङ’ तयार गर्ने योजना जगनले बताएका छन् । उनी भन्छन्, ‘कसैको घरमा भाडा होइन कि, आफ्नै माटो किनेर बिल्डिङ बनाएर संस्थालाई बलियो बनाएर जानुपर्छ ।’ आसन्न निर्वाचनको मुख्य एजेन्डा उनले त्यसैलाई बनाएका छन् ।
नागरिकताको सवालमा एकढिक्का भएर एनआरएन क्यानडाबाट आवाज ‘बुलन्द’ गर्ने योजना जगनले यहाँको समुदायमा पस्केका छन् । उनी भन्छन्, ‘नेपाल सरकारसँग पनि लबिङ गरेर एकपटकको नेपाली सधैंको नेपाली भन्ने मुल नारालाई व्यवहारमै उतार्ने योजना छ ।’ क्यानडामा न्यु कमरको रुपमा आउनेहरुलाई यहाँका पुरानाहरुको सहयोग आवश्यक पर्छ । वर्क परमिट लिएर आउनेहरु र विद्यार्थीहरुलाई पनि एनआरएनएको सहयोग चाहिन्छ । त्यस्तोमा न्यु कमरहरुका लागी एनआरएन क्यानडाले ‘टास्क फोर्स’ बनाएर काम गर्नुपर्ने सापकोटा बताउँछन् ।
समुदायप्रति समर्पण: एजेन्डा, सहयोग र संरचना
विद्यार्थीहरु नेपालबाट आउँदा नै एउटा सर्तमा बाँधिएर आउने हुनाले क्यानडाका शिक्षण संस्था र सरकारसँग कमिटमेन्ट गरेको विषय भन्दा बाहेक अन्य विषयमा सहयोग गर्नेगरी एनआरएनएले काम गर्नुपर्ने उनको भनाई छ । सापकोटा भन्छन्, ‘नेपाली साथिहरुलाई विभिन्न किसिमका सेमिनार, गोष्ठी, वेबिनार जस्ता कार्यक्रमहरु सञ्चालन गरेर त्यसमार्फत आवश्यक पर्ने सम्पुर्ण सहयोग गर्छौं ।’ एनआरएनएले आयोजना गरेको एउटा सभा, सेमिनार, गोष्ठी र वेबिनारहरुबाट नेपालीहरुले पेसा–व्यवसायप्रति लाभान्वित हुन सक्ने सचेतनामुलक कार्यक्रम लिएर जानुपर्ने सापकोटा बताउँछन् । पत्रकारिता छाडेर क्यानडा जगनले आफ्नो पुख्र्यौली घर छाडेर बनारस र पोखरामा गएर उच्च शिक्षा अध्ययन गरे ।
बिएण्ड र मास्टर डिग्री अध्ययन काठमाडौंबाट पुरा गरेपछि उनि क्याम्पस पढाउन थालेका थिए । कलेज पढाउँदै उनले राजधानी दैनिकमा भाषा सम्पादक भएर काम गरे । करिब ८ वर्ष राजधानी दैनिकमा काम गरेको बताउँछन् सापकोटा । गाउँबाट आएका बिरामी र विदेश जान भनेर आएकाहरुलाई आफ्नो कोठामा राख्ने र उनिहरुको सुख, दुःखमा सहयोग गर्दै उनजे समाजसेवा सिकेका हुन् । त्यहि हुटहुटिले अहिले उनि एनआरएनए क्यानडाको नेतृत्व खोज्दैछन् । पत्रकारीता छाडेर उनि क्यानडा आए । २०१५ मा उनले एनआरएनए क्यानडाको आजीवन सदस्यता प्राप्त गरेका थिए ।
