CanadaKhabar.com

Monday, December 15, 2025 -

नमस्ते रेडियो टोरोन्टोको २० बर्ष पूरा: समुदायको सेवामा समर्पित हुने प्रतिबद्धता ! 

क्यानडाखबर संवाददाता – टोरोन्टो ।

“टोरोन्टोको आकाशमा नेपालीको आवाज” भन्दै नेपाल चिनाउने हुटहुटी बोकेर क्यानाडाको टोरोन्टोमा स्थापित नमस्ते रेडियो टोरोन्टोले आफ्नो सेवाको २० बर्ष पूरा गरेको छ।

नमस्ते रेडियो टोरोन्टो एनआरएन क्यानाडाका पूर्व अध्यक्ष, समाजसेवी एवं सफल ब्यबसायी अनिल थापाको तत्परता र लगनशीलता सन् २००५ को अगस्ट ०६ मा संचालित र स्थापित भएको हो। रेडियोको उद्घाटन ब्राम्प्टन स्थित तन्दुरी रेस्टुरेन्टमा स्व. डा. कुञ्जरमणि शर्माले गर्नु भएको थियो। रेडियो स्थापनाको यो दुई दशकमा नमस्ते रेडियो, टोरोन्टोको आकाशमा नेपालीको आवाज बनेर निरन्तर गुञ्जिरहेको छ र नेपाल र नेपालीसंग सम्बन्धित समसामयिक विषयमा जिज्ञासा कार्यक्रम मार्फत आवाज पनि बुलन्द गर्दै आएको छ।

संचालनको सुरुको अबधिमा सिएमआरको १०१.३ फ्रिक्वेन्सीमा प्रत्येक आईतवार बिहान ९ देखि १० बजे सम्म दैनिक १ घन्टा संचालमा आएको थियो भने त्यसको ३ बर्षपछी पूर्व समय तालिकामा सामान्य फेरबदल भएर हाल निरन्तर रुपमा साताको प्रत्येक शनिबार बिहान ७:३० देखि ८:०० बजेसम्म नेपाली कार्यक्रम संचालन भईरहेको छ।

नमस्ते रेडियो – भ्वाइस अफ नेप्लिज कम्युनिटीको कार्यक्रम हरेक साताको शनिबार बिहान ७:३० देखि ८:०० बजे सम्म क्यानेडियन मल्टी कल्चर रेडियो १०१.३ एफएमबाट क्यानाडाको ग्रेटर टोरोन्टो एरिया र इन्टरनेट मार्फत रेडियोको वेबसाईट ट्रिपल डब्लु डट नमस्ते रेडियो डट सिएबाट पनि प्रत्यक्ष प्रशारण सुन्न सकिन्छ भने फेसबूकबाट पनि प्रत्यक्ष रुपमा हेर्न र सुन्न सकिन्छ। हालैका दिनहरुमा टिकटक, युट्युब र इन्स्टाग्राममा पनि रेडियोले आफ्नो उपस्थिति जनाएको छ।

‘नमस्ते रेडियो टोरोन्टो’ ले डायस्पोरा जनजीवनका विविध गतिविधिलाई समेटेर नेपाली समुदाय र संस्कृति केन्द्रित कार्यक्रम प्रस्तुत गर्दै आएको यथार्थतालाई मनन गर्दै ‘क्यानेडियन इथनिक मिडिया एसोसियसन’ ले सन् २०२३ को रेडियोतर्फको ‘बेस्ट रेडियो अवार्ड’ रेडियोका सन्चालक तथा कार्यक्रम प्रस्तोता अनिल थापालाई प्रदान गरेर बिशेष सम्मान प्रदान गरेको थियो।

स्थापनाकालदेखी हालसम्म अनवरत रुपमा कार्यक्रम निर्माण, संचालन र निर्देशन गर्दै आएका रेडियोका संस्थापक अनिल थापालाई यो २० बर्षको लामो यात्रामा डा. गोबिन्द सिंह रावत, सपना ढुंगाना, स्वयम पोख्रेल, संजीव शर्मा, अनिल ओझा, सृष्टि रावत, यूएफटीका डा. योगेन्द्र शाक्य, डा. सबिन निग्लेखु, स्व.शम्भु धमला, मनोज पोख्रेल, अचिन गीरी उर्फ हाम्रो परिवार, सुजन मास्के, आस्था तामाङ मास्के, चन्दा श्रेष्ठ, केदार बस्नेत, रोशन बस्नेत, लेखनाथ सिवाकोटी, संजीव रिजाल, आशुतोष उपाध्याय, पूर्ण पौडेल, आशा रजक, ज्योति वैद्य, जयराम गौतम, कमला सापकोटा, राम पराजुली, प्रीति भट्ट, दिनेश सिंह मल्ल, कुन्दन घिमिरे, प्रधुमन रेग्मी, डा बिनोद बराल र पछिल्लो समयमा मदन बस्नेत लगायतका अरु धेरैले सघाउँदै आएका छ्न्। त्यसैगरी ढुण्डी पाण्डे, सागर पोख्रेल लगायत अन्य धेरै ब्यक्तित्वहरुले रेडियोको संचालन र नीरन्तरतामा दृश्य पछाडि रहेर सघाउनु भएको थियो।

क्यानाडामा नेपाल र नेपालीलाई चिनाउने र क्यानेडेली मूलधारमा आफ्नो उपस्थिति जनाउने सन्दर्भमा खोलिएको र नीरन्तर समुदायको सेवामा समर्पित हुँदै संचालनमा रहेको नमस्ते रेडियो टोरोन्टोका संथापक अनिल थापाले स्थापना कालदेखि हालसम्मका सबै होस्ट र कार्यक्रम सहयोगी, नेपाली समाजका अगुवा, सेवाग्राही, ब्यबसायी, बिज्ञापनदाता र सम्पूर्ण श्रोता तथा दर्शकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ।

स्थापनाको २० औं बर्ष पूरा भएको अबसरमा वहाँले नमस्ते रेडियो टोरोन्टो लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध रहेको र स्थापित मूल्यहरूमा इमानदारी, निष्ठा, विविधता, रचनात्मकताकासाथ समाजमा सेवा पुर्याउन कटिबद्ध रहेको पनि बताउनु भएको छ।