मदन बस्नेत – क्यानडाखबर ।
क्यानडाको मुख्य शहर टोरोन्टोको डाउनटाउन स्थित नेथन फिलिप स्क्वायरमा बर्सेनि मनाइने नेपाली मेला “हिमालयन मेला” भब्यताकासाथ मनाउन सम्पूर्ण तयारी पूरा गरिसकेको आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) ले जनाएको छ।
उत्तर अमेरिकाकै सबैभन्दा बृहत मेला मानिदै आएको नेपाली मेला “हिमालयन मेला” को यसपटकको १७ औं संस्करण आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) को स्थापनको २५ औं बर्षगाँठ अर्थात रजत जयन्तीमा परेको हुनाले यसपटकको हिमालयन मेला अन्य बर्षहरुको भन्दा पृथक र भब्य हुने आयोजक संस्थाको दाबी छ।
कार्यक्रममा सधैं नेपालको सांगीतिक क्षेत्रमा बिशिस्ट स्थान समेट्न सफल सर्वाधिक लोकप्रिय गायकहरुलाई बोलाउने परम्परा रहिआएकोमा यसपटक नेपाली लोकसंगितको क्षेत्रमा सर्बाधिक चर्चामा रहेका भ्वाइस अफ नेपाल सिजन ६ र भ्वाइस अफ किड्स सिजन २ का कोच खेम सेन्चुरीलाई प्रमुख आकर्षणको रुपमा निम्त्याईएको थियो।
हिमाली मेलामा प्रस्तुति दिन क्यानाडा आउने क्रममा गायक खेम सेन्चुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रि प्रतीक्षालयमा रहँदा अचानक पेटमा समस्या देखिएपछि उपचारार्थ केएमसी हस्पिटल सिनामंगलमा भर्ना हुनुभएको छ। उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको जानकारी अस्पतालले दिएको छ। वहाँको स्वास्थ्य समस्याको कारण अगस्ट ९ मा टोरोन्टोमा हुने “हिमालयन मेला” कार्यक्रममा उहाँको उपस्थिती सम्भव नभएको हुँदा आयोजक संस्था एनसिसिएसले दर्शक-श्रोतालगायतमा क्षमायाचना प्रकट गर्दै आसन्न कार्यक्रमलाई सफल पार्न ग्लुमी गाइज ब्याण्डका गायक हरि कर्माचार्य र अर्का प्रतिभाशाली गायिका अन्जना गुरुङलाई बिशेष प्रस्तुतिकालागि निम्त्याउने निर्णय गरेको छ।

संस्थाका तर्फबाट महासचिव सुदर्शन सापकोटाले गायक खेम सेन्चुरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण क्यानाडाबासी नेपालीहरुमा उहि जोस र उत्साहकासाथ मेलामा सहभागी भएर हिमालयन मेलालाई भब्यताकासाथ सफल पार्न अनुरोध गर्नु भएको छ।
यो बर्षको हिमालयन मेलामा नेपाली परम्परागत खाना सेलरोटी, नेवारी खाजा समयबजी, म:म: लगायतका परिकारयुक्त स्टलहरुका साथै स्थानीय गायक र कलाकारहरुको गीत-संगीत र नृत्य सहितको सांस्कृतिक कार्यक्रमहरूको बिशेष सांस्कृतिक प्रदर्शनी गरिने छ। क्यानाडाको माटोमा हुर्केबढेको नेपाली मौलिक गितसंगित मार्फत प्रवासी नेपालीलाई देश सम्झाउने र नयाँ पुस्तालाई नेपालको मौलिक गितसंगित र परम्परा सिकाउने जमर्को गर्दै आएको सांगीतिक समूह हिमालयन भ्वाइब्सको बिशेष प्रस्तुति रहनेछ। हिमालयन मेलामा सधैंभरी सबैले बिशेष चाख दिएर हेर्ने र रमाउने नेवारी परम्परा र संस्कृति झल्काउने लाखे नाच यसपटक पनि हेर्न पाइने छ भने बाग्लुङ सेवा समाजको पंचेबाजाको तालमा छमछ्मी नाच्न पनि पाइनेछ। त्यस अलावा विभिन्न वेषभुषामा नेपाली जाततातीको नृत्य र गायन प्रदर्शन गरिनेछ। यसपटकको थप नयाँ प्रस्तुतिमा मन्जुश्री नृत्य रहनेछ।
दिउँसो १२:०० बजेदेखि राति ९:०० बजेसम्म चल्ने यो हिमालयन मेलामा प्रवेश निःशुल्कको ब्यबस्था गरिएको छ भने पार्किङ कार्यक्रम स्थल नाथन फिलिप स्क्वायरको ठिक मुनि बेसमेन्टमा सुलभ शुल्कमा सुरक्षित पार्किङ गर्न सकिनेछ। त्यस अलावा सडकपेटीमा ग्रीन पार्किङको सुबिधा पनि छँदैछ।
मेलामा हजारौं नेपालीले सहभागिता जनाउने हुनाले भेटघाट रमाईलो र मनोरञ्जन त हुन्छ नै, त्यो भन्दा बढ्ता क्यानाडामा हिमालयन मेलाले दिने भनेको नेपालीको पहिचान हो, नेपालीको एकता र एक्यबद्धता हो। त्यसैले हिमालयन मेला क्यानाडामा बस्ने नेपालीको भेला मात्र हैन, यो नेपाल र नेपालीलाई चिनाउने एउटा सुनौलो अवसर पनि हो। त्यसैले क्यानाडामा नेपाल र नेपालीलाई चिनाउने यो महान उत्सवमा सहभागी हुन संस्थाकी अध्यक्ष बिना बर्माले क्यानाडाबासी सबै नेपाली समुदायमा संस्थाको तर्फबाट हार्दिक अनुरोध गर्नुभएको छ।
न्युनतम करिब १० हजार सहभागी रहने अपेक्षा गरिएको महोत्सवमा नेपाली खानाका दर्जन बढी स्टलहरू रहने छ्न् भने खानाका स्टलबाहेक मेलामा अरु थुप्रै व्यवसायिक तथा सेवा–सुविधा सम्बन्धी स्टलहरू रहनेछन्। तीमध्ये कन्सल्टिङ सेवा, रियल स्टेट, इमिग्रेशन सर्भिस, इन्स्योरेन्स कम्पनी, गहना व्यवसाय, थाङ्का तथा हस्तकला बिक्री, कपडा व्यवसाय, आइसक्रिम र जुस स्टलहरू समावेश हुनेछन्। यसरी मेलाले नेपाली समुदायसँग सम्बन्धित व्यवसायहरूलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्दै आएको दाबी संस्थाका महासचिव सुदर्शन सापकोटाले गर्नु भएको छ।
सापकोटाका अनुसार मेलामा नेवा, तामाङ, थारु, गुरुङ, मधेसी लगायतका प्रमुख जातीय समुदायहरूले आफ्ना परम्परागत नृत्य, भेषभूषा र सांगीतिक प्रस्तुति दिने तयारी गरेका छन्।
मेला अवलोकन गर्न र उद्घाटन समारोहलाई सम्बोधन गर्न क्यानाडाका माननीय प्रधानमन्त्री, प्रान्तीय प्रिमियर, संघीय सांसदहरू (MP), प्रान्तीय सांसदहरू (MPP), टोरन्टो सिटीका मेयर, र नगरस्तरीय प्रतिनिधिहरू समेतलाई प्रमुख अतिथि तथा सम्माननीय अतिथिका रूपमा औपचारिक निमन्त्रणा पठाइएको छ भने नेपाली समुदायका विभिन्न संघ संस्थाहरुलाई पनि निम्तो दिईएको हुनाले वहाँहरु सबैको उपस्थितिले मेलालाई अझ व्यापक र सशक्त बनाउने आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) ले विश्वास प्रकट व्यक्त गरेको छ।

