मदन बस्नेत – क्यानडाखबर टोरोन्टो ।
क्यानडाको मुख्य शहर टोरोन्टोको डाउनटाउन स्थित नेथन फिलिप स्क्वायरमा बर्सेनि मनाइने उत्तर अमेरिकाकै सबैभन्दा बृहत नेपाली मेला: “हिमालयन मेला” दशौं हजार नेपालीको जमघटकाबीच भब्यताकासाथ सम्पन्न भएको छ।
मेला आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) को स्थापनाको २५ औं बार्षिकोत्सवको अवसरमा परेको हुनाले हिमालयन मेलाको यसपटकको १७ औं संस्करण अन्य बर्षहरुको भन्दा पृथक र भब्य रहेको मेला अबलोकन गर्ने दर्शकहरुले बताएका छ्न्। यसपटक कार्यक्रम स्थलमा जडान गरिएको एलईडी स्क्रिन र गुणस्तरीय साउण्ड सिस्टमका साथै राम्रो लाइटिंगको ब्यबस्थाले कार्यक्रमको माहोल र स्तर निकै उच्चस्तरीय बनाइदिएको मूल्यांकन सबैले गरेका छ्न्।
कार्यक्रममा १७ वटा सांस्कृतिक प्रस्तुतिहरू र ३ वटा ब्यान्डहरूले संगीत प्रस्तुत गरेका थिए भने १५ बढी संघसंस्थाहरूले सांस्कृतिक पोशाकमा सहभागी भएर सामुदायिक परेडमा भाग लिएर सांस्कृतिक विविधता झल्काएका थिए।

प्रमुख प्रस्तुतिकालागी आएका ९० का दशकाको चर्चित नेपाली पप ब्याण्ड ग्लुमी गाइजका गायक हरि कर्माचार्य र अर्का प्रतिभाशाली गायिका अन्जना गुरुङको बिशेष प्रस्तुतिमा हजारौं दर्शकरुले नाचेर साथ दिएका थिए। दर्शक दिर्घाबाट ठुलाठुला स्वरमा आईरहेको वान्स मोर, वान्स मोरको आवाजले टोरोन्टो गुञ्जयमान भएको थियो।
विभिन्न फुड भेन्डरहरुको स्टलहरुमा नेपाली परम्परागत खाना सेलरोटी, नेवारी खाजा समयबजी, म:म:, खसीको भुटन, नेपाली मौलिक मिठाई र मसला चिया, नेपाली स्वादको चाउमिन, योमरी लगायतका परिकारयुक्त स्टलहरुमा खानाका पारखीहरुको लाइन निकै लामो देखिएको थियो।
मञ्जुश्री नाच र लाखे नाचलाई नेपाली दर्शकहरुले मात्र हैन बिदेशी समुदायका दर्शहरुले पनि बढो चाख लिएर हेरिरहेका थिए। क्यानाडामा हुर्किँदै गरेका नयाँ पुस्ताका केटाकेटीहरुले बजाएको पियानो र गरेको विभिन्न नृत्य प्रदर्सनीले सबैलाई मन्त्रमुघ्ध बनाएको थियो। बाग्लुङ सेवा समाजले पंचेबाजाको तालमा सदा झैँ यसपटक पनि सबैलाई छमछ्मी नचाएको थियो। क्यानाडामा नै म्युजिकल ब्याण्ड सृजना गरेर सांगीतिक अभियानमा लागेका विभिन्न स्थानीय ब्याण्डहरुको प्रस्तुति पनि बिजोड रहेको थियो।

कार्यक्रममा क्यानाडाकालागी नेपाली राजदुत महामहिम भरतराज पौड्याल, गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अध्यक्ष जगन सापकोटा, ग्लोबल एनआरएनएका सह-कोषाध्यक्ष अभिमन्यू बस्नेत, ओन्टारियो प्रान्तीय सांसद सदस्य डली बेगम, टोरन्टो सिटी काउन्सिलर पार्थी कान्डवेल लगायतका व्यक्तिहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा अन्टारियो प्रान्तका प्रिमियर डग फोर्ड, टोरन्टोकी मेयर ओलिभिया चाउ र सांसद सोनिया सिंधुबाट प्राप्त शुभकामना तथा बधाई सन्देश पढेर सुनाइएको थियो।
मेलालाई सफतापूर्वक सम्पन्न गर्न महिनौं अघिदेखिको तयारी र अहोरात्र खटाईमा जुट्नु हुने संस्थाका सबै पदाधिकारीहरु, सदस्य तथा शुभचिन्तकहरुलाई संस्थाको तर्फबाट चेयरम्यान डा. थमनाथ अधिकारीले धन्यबाद दिनुभएको छ भने संस्थाकी अध्यक्ष बिना बर्माले कार्यक्रम प्रायोजकहरु, चन्दादाताहरु, कार्यक्रममा सहभागीता जनाउने अतिथी एवं सम्पूर्ण नेपाली जनसमुदायप्रती कृतज्ञता ज्ञापन गर्नु भएको छ।

क्यानाडामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुको सहयोग, कलाकारहरुको बेजोड प्रस्तुति, फुड भेन्डरहरुको स्वादिलो खाना, प्रायोजकहरुको भरोसायुक्त सहयोग र मिडियाहाउस र मिडियाकर्मीहरुको सहकार्य, स्वयम् सेवकहरुको निस्वार्थ भावनाका साथसाथै क्यानाडामा बसोबास गर्ने समस्त नेपाली समुदायको साथ र समर्थनले कार्यक्रम
टोरोन्टो सिटीको उच्च श्रेणी अर्थात “ए क्याटागोरी” को बन्न सफल भएको र हिमालयन मेला भब्य र सभ्य कार्यक्रमको रुपमा दर्ज भएकोमा आयोजक संस्था नेपालीज कम्युनिटी सर्भिसेज (NCCS) का महासचिव सुदर्शन सापकोटाले सबै प्रती हार्दिक आभार ब्यक्त गर्नु भएको छ।



Photo Source : Nepalese Canadian Community Services
