CanadaKhabar.com

Monday, December 15, 2025 -

“अब हाँस्छ क्यानाडा” को अग्रिम बुकिङ सुरु: मिसिसागा शो अगस्ट ३० मा !

क्यानडाखबर डेस्क – टोरोन्टो ।

हास्यव्यङ्ग्य बिधाका पछिल्लो समयका सबैभन्दा चर्चित कलाकार सुमन कार्की, कमेडी च्याम्पियन सिजन २ का बिजेता भरतमणी पौडेल र अर्का युवा कमिडियन कैलाश कार्की क्यानाडामा आयोजना हुने मनोरञ्जनात्मक कार्यक्रम “अब हाँस्छ क्यानाडा” मा आफ्नो बेजोड प्रस्तुति दिन क्यानाडा आउने भएका छ्न्।

समसामयिक विषयवस्तु, सामाजिक विकृति र मानवीय संवेदनालाई आफ्नो हास्यव्यङ्ग्यको मुख्य विषय बनाउने यी तीनै चर्चित कलाकार नेपालको स्ट्यान्ड-अप कमेडी क्षेत्रमा स्थापित नाम हुन् । उनीहरूको क्यानाडा आगमनले क्यानाडामा बसोबास गर्ने नेपालीहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ।

आँगन इभेन्ट्स इन्क र आई र यू इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम क्यानाडाका तीन प्रमुख शहरहरू मिसिसागा, क्याल्गरी र एडमन्टनमा प्रस्तुत गरिँदैछ।

आँगन इभेन्ट्स इन्क र आई र यू इन्टरटेनमेन्टले कार्यक्रमलाई अझ बढी व्यापक बनाउन र  स्थानीय स्तरमा थप प्रभावकारी बनाउन अन्य  संस्थाहरूसँग पनि सहकार्य गरेको छ । जसअनुसार, क्याल्गरीमा एमजीपी इन्टरटेनमेन्ट र एडमन्टनमा गन्तव्य नामक संस्थासंग सहकार्य गरेको छ।

कार्यक्रमको पहिलो शो आगामी अगस्ट ३० तारिख, शुक्रबारका दिन मिसिसागाको एनापिलिस क्रिश्चियन कम्युनिटी सेन्टरमा साँझ ७ बजेदेखि सुरु हुनेछ । उक्त कार्यक्रमकोलागी अनलाइन टिकट बुकिंग पनि सुरु भैसकेको छ।

अनलाइनमार्फत अग्रिम टिकट खरिद गर्नेका लागि ४० क्यानेडियन डलर र कार्यक्रम स्थलमै टिकट खरिद गर्नेका लागि ५० डलर शुल्क तोकिएको आयोजकले जानकारी दिएका छन् ।

क्यानाडाको व्यस्त जीवनशैलीबाट एकैक्षण  तनावमुक्त भएर मनोरञ्जन प्राप्त गर्न र परदेशको भुमीमा रहेर आफ्नो भाषा, संस्कृति र कला प्रती  माया दर्शाउने यो बिशेष मौकाको भरपुर फाइदा उठाउन आयोजकहरुले सबैमा सबिनय अनुरोध गरेका छ्न्।