CanadaKhabar.com

Monday, December 15, 2025 -

टिएनएससी भेट्रान्स कप र कुञ्जर शर्मा मेमोरियल कप सम्पन्न: दुबै उपाधी हिमालयन डाइनामोसलाई !

मदन बस्नेत – क्यानडाखबर टोरोन्टो ।

टोरन्टो नेपलिज स्पोर्ट्स क्लब (TNSC) ले आयोजना गरेको टिएनएससी भेट्रान्स कप २०२५ र कुञ्जर शर्मा मेमोरियल कप U15 भव्यताका साथ सम्पन्न भएको छ। 

अगस्ट १८ आइतबार युएफटी स्कारबरो फुटबल मैदानमा सम्पन्न खेलमा भेट्रान्स कप २०२५ मा हिमालयन डाइनामोस रेड तथा कुञ्जर शर्मा मेमोरियल कप U15 मा हिमालयन डाइनामोस जुनियर टिम विजेता बन्न सफल भएका छ्न्।

भेट्रान्स कपमा कुल ७ टिम: हिमालयन डाइनामोस रेड, हिमालयन डाइनामोस ब्लू, TNSC रेड, TNSC ब्लू, ब्राम्सागा युनाइटेड एफसी, बुद्ध एफसी र NRNA क्यानडा सहभागी थिए। उपाधिको लागि भएको फाइनल प्रतिस्पर्धामा हिमालयन डाइनामोस रेड र TNSC रेडबीचको खेल निर्धारित समयसम्म १-१ गोलको बराबरीमा टुंगिएको थियो। पेनाल्टी सुटआउटमा हिमालयन डाइनामोस रेड ले TNSC रेड लाई ४-३ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

त्यस्तै, कुञ्जर शर्मा मेमोरियल कप U15 अन्तर्गतको फाइनलमा हिमालयन डाइनामोस जुनियर र TNSC जुनियरबीच रोमाञ्चक प्रतिस्पर्धा भयो। निर्धारित समयमा २-२ को बराबरी भएपश्चात पेनाल्टी सुटआउटमा हिमालयन डाइनामोस जुनियर ले TNSC जुनियरलाई ३-२ ले पराजित गर्दै उपाधि जित्न सफल भयो।

समग्र खेलमा खेलाडीहरुले प्रदर्शन गरेको उच्च खेल कौशलका आधारमा प्रतियोगिताको मोस्ट भ्यालुएबल खेलाडी (MVP) हिमालयन डायनामोस रेडका अमर श्रेष्ठ, सर्वोत्तम डिफेन्डर हिमालयन डायनामोस रेडका अनिल कुशवाह, सर्वोत्तम फरवार्ड TNSC रेडका नवीन पौडेल, सर्वोत्तम मिडफिल्डर TNSC रेडका समीर गुरुङ, सर्वोत्तम गोलकिपर TNSC रेडका बिदुर केसी, प्रतियोगिताको सर्वोच्च गोल स्कोरर हिमालयन डायनामोस रेडका उत्तम श्रेष्ठ र फेयर प्ले अवार्ड NRNA क्यानडाको टोलीले प्राप्त गर्न सफल भएका छ्न्।

प्रतियोगिता सफल बनाउन योगदान गर्ने आयोजक समिति, क्लबका सदस्यहरू, सहभागी टिमका प्रबन्धक, प्रशिक्षक, रेफ्री, स्वयंसेवक, समर्थक, अभिभावक तथा दर्शकहरूसहित उपस्थित अतिथीहरूलाई धन्यवाद ज्ञापन गर्दै TNSC का अध्यक्ष रबिन्द्र लम्साल ले आभार व्यक्त गर्नुभयो। कार्यक्रममा सञ्चालन TNSC का बिमल बस्नेतले गर्नुभएको थियो।

प्रतियोगिताको उद्घाटन समारोहमा स्कारबरो सेन्टरकी सांसद सलमा जाहिद, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटा, तथा एनआरएनए ICC सह-कोषाध्यक्ष अभिमन्यु बस्नेत लगायतको उपस्थिति थियो।

त्यसैगरी, U15 तर्फका विजेता टिम र खेलाडीहरूलाई पुरस्कार वितरण स्व. डा. कुञ्जरमणि शर्माका सुपुत्र बेन्जामिन शर्मा (बेन) ले गर्नुभएको थियो।

खेलकूदमार्फत GTA क्षेत्रमा नेपाली समाजलाई जोड्ने अभियानमा TNSC निरन्तर सक्रिय रहँदै आएको छ। विगत ६ वर्षदेखि निरन्तर Kids Soccer Training सञ्चालन गर्दै आएको क्लबले यस वर्ष मात्र खुकुरी कप र थ्री स्टार कप दुवैमा च्याम्पियन बन्न सफल भएको थियो। साथै, गत वर्ष सिटी अफ टोरन्टोले TNSC लाई Toronto Community Champions Award 2024 प्रदान गरेको थियो।