CanadaKhabar.com

Monday, December 15, 2025 -

मेन्स रुम रीलोडेड क्यानडा फुटसल टुर्नामेन्ट सम्पन्न: कट्टा एफसी बन्यो विजेता

मदन बस्नेत / क्यानडाखबर – टोरोन्टो । नर्थ योर्क स्थित लालीगा फुटसल कोर्टमा अगस्ट २३, शनिबार आयोजित मेन्स रुम रीलोडेड क्यानडा (MRR Canada) फुटसल टुर्नामेन्ट २०२५ उत्साहजनक माहोलमा सम्पन्न भएको छ। ४ टिमका कूल ४० खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगितामा खुकुरी युनाइटेडलाई पराजित गर्दै कट्टा एफसी बिजेता बन्न सफल भएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल टोली कट्टा एफसी (Katta FC) ले नगद $१,५००, कप र स्वर्ण पदक प्राप्त गर्‍यो। त्यसैगरी उपविजेता खुकुरी युनाइटेड (Khukuri United) ले नगद $६०० सहित रजत पदक हात पार्‍यो।

४० जना खेलाडीहरूले आफ्नो नाम दर्ता गरेर विभिन्न पोजिसनमा सहभागिता जनाएकोमा आयोजकहरूले लक्की ड्र प्रणालीमार्फत ४ वटा टिम निर्माण गरेका थिए। दिउँसो १२ बजे सुरु भएको खेल रोमाञ्चक प्रतिस्पर्धापछि बेलुकी ७ बजे सम्पन्न भएको थियो।

आयोजक टोलीका प्रतिनिधि सुदर्शन सापकोटाका अनुसार प्रतियोगिताले खेलभन्दा पर गएर युवाबीचको भाईचारा, सामुदायिक सम्बन्ध र आपसी सहयोगलाई जोड्ने एउटा सेतुको रुपमा काम गरेको छ र भविष्यमा यसलाई अझ ठूलो स्तरमा आयोजना गर्ने योजना रहेको बताउनु भएको छ।

झ्वाट्ट सुन्दा पाठकहरुलाई लाग्न सक्छ कि यो मेन्स रुम रीलोडेड (MRR) के हो ? कस्तो संस्था हो ? प्रश्न उठनु स्वाभाविक नै हो। पाठकका त्यही जिज्ञासा मेटाउन हामीले आयोजक टिमका प्रतिनिधि सुदर्शन सापकोटालाई सोधेका थियौं, मेन्स रुम रीलोडेड कस्तो समूह हो ? जवाफमा वहाँले भन्नू भयो कि रीलोडेड हाल कहिँ कतै दर्ता भएको संस्था नभई सामाजिक फेसबुक समूह हो, यसको लोकप्रियता नेपाल र क्यानडामा दुवैमा उल्लेखनीय छ। “Simply Networking” भन्ने मूल मन्त्रका साथ समूहले हाइकिङ कार्यक्रम, रक्तदान, ढाका टोपी दिवस लगायतका गतिविधिहरू गर्दै आएको छ।

यसै वर्षदेखि भने यो समूहले आफ्नो गतिविधिमा फुटसल प्रतियोगिता थपेको हो। फुटसल खेलका माध्यमबाट युवाबीच खेलकुदप्रतिको आकर्षण बढ्ने मात्र नभई सामुदायिक एकता र नेपाली पहिचानलाई बलियो बनाउन योगदान गर्ने बिश्वास आयोजक समुहको रहेको छ।