मदन बस्नेत – क्यानडाखबर – टोरोन्टो ।
हरितालिका तिजको अवसरमा सृजनशील नेपाली समाज क्यानाडा (एसएनएस) ले आयोजना गरेको हरितालिका तीज २०८२: शुभकामना आदान प्रदान तथा नाचगान कार्यकम सम्पन्न भएको छ।
क्यानडाको जिटिए क्षेत्रलाई आफ्नो समाजसेवाको क्षेत्र बनाएर आफ्नो स्थापना कालदेखि क्यानेडेली मूलप्रवाहमा नेपाली समाजलाई परिचित गराउने अभियानमा जुटेको सामाजिक संस्था सृजनशील नेपाली समाजले यही अगस्ट २४ गते आइतबारका दिन “द स्टेज म्याग्ना” स्कारब्रोमा “हरितालिका तीज २०८२: शुभकामना आदान प्रदान तथा नाचगान कार्यकम” मा संघीय सांसददेखि सिटी काउन्सिलरसम्मको उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरुलाई संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक श्री शिशिर पाण्डे र कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष श्री देवेन्द्र कार्कीले नेपाली ढाका टोपी र खादा पहिराएर स्वागत गर्नु भएको थियो।
कार्यक्रममा स्कारबोरो सेन्टर, डनभ्याली ईस्टकी एमपि माननीय सलमा जाहिद, स्कारबोरो उत्तरका एमपि माननीय शॉन चेन र स्कारबोरो-दक्षिणपश्चिम क्षेत्रका काउन्सिलर पार्थी कान्डभेल लगायतका अतिथिहरुले तिज पर्वको शुभकामना दिएका थिए।

कार्यक्रमको सुरुवात क्यानाडा र नेपालको राष्ट्रिय गानबाट सुरु गरिएको थियो। प्रशिक्षक विशेष केसीद्वारा प्रशिक्षित साना भाइबहिनीहरुले नेपाली वेषभुषा र पहिरनमा सजिएर मादल र पियानो बजाउँदै र गाउँदै प्रस्तुत गरेको क्यानाडा र नेपालको राष्ट्रिय धुनले सबैलाई मन्त्रमुग्ध पारेको थियो।
कार्यक्रमको सबैभन्दा आकर्षण भनेको ५ बर्षका ससाना केटाकेटीदेखि युनिभर्सिटी पढ्ने सम्मका बिद्यार्थीहरुको नृत्य प्रदर्शन रहेको थियो। आफ्नो छोराछोरीले त्यसरी स्टेजमा गाएको, नृत्य गरेको र मादल र पियानो बजाएको देखेर कतिपय अभिभावकहरु भावबिह्वल भएको समेत देखिन्थ्यो। उनीहरुले नाचगान गर्दा दर्शक दीर्घाबाट ताती र सिठिको आवाज लगातार आईरहेको थियो।

संस्थाले आयोजना गरेको तिज कार्यक्रममा नृत्य गर्ने ५ देखि १२ बर्ष उमेर समुहका केटाकेटीहरुलाई सृजनशील कै पुर्व प्रशिक्षार्थीहरु अपेक्षा पाण्डे, सौरभी पौड्याल र निष्ठा सापकोटाले बिगत ३ महिनादेखि नृत्य प्रशिक्षण गर्दै आएका थिए।
स्वीकृति घिमिरेद्वारा प्रशिक्षित १५ जना महिला दिदिबहिनीहरुद्वारा प्रस्तुत बिशेष सामुहिक नृत्यले हल तिजमय बनेको थियो। उनीहरूको प्रस्तुतिले विदेशमा नेपाली महिलाहरूले तीजलाई कसरी उल्लासपूर्वक मनाउँदै आफ्नो संस्कार र पहिचानलाई जोगाइरहेका छ्न् भन्ने यथार्ततालाई दर्शाइरहेको थियो।

नृत्य प्रशिक्षक अपेक्षा पाण्डे, सौरभी पौड्याल, निष्ठा सापकोटा र शिष्ना सिम्खडाद्वारा प्रस्तुत नृत्यले सबैको ध्यान खिचेको थियो। उनीहरुले त्यो उच्च स्तरको नृत्यलाई सबैले निकै प्रशंसा गरेका थिए। मादलको प्रशिक्षण भने गायक, संगीतकार तथा संगीत प्रशिक्षक भानु वलीले गर्नु भएको हो।
लोकप्रिय गायिका सत्यकला राई र गायक, संगीतकार तथा संगीत प्रशिक्षक भानु वलीले पस्किएको सांगीतिक कोसेलीले कार्यक्रममा सहभागी सबैलाई छमछमी नचाएको थियो। गायिका सत्यकला राईको तिज स्पेशल गीतमा नेपालबाट क्यानडा घुम्न आउनुभएका जेष्ठ नागरिक आमाबुबा लगायत अन्य सबै सहभागीहरुले धित मारेर नाचेका थिए।

कार्यक्रममा सहभागी सबैलाई तिज पर्वको उपलक्ष्यमा बिशेष डिनर “दर” को पनि व्यवस्था गरिएको थियो। क्यानाडामा हुर्के बढेका केटाकेटीलाई नेपाल र नेपाली कला, संस्कृति र परम्परासंग जोड्न र उनीहरूको क्षमता र प्रतिभालाई प्रस्फुटन गर्न सृजनशील नेपाली समाज सफल भएकोमा संस्थाका संरक्षक श्री शिशिर पाण्डेले खुसी ब्यक्त गर्नु भएको थियो। वहाँले यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिँदै जाने र आगामी दिनहरुमा पनि गितसंगित र नृत्य लगायतका बालबालिका केन्द्रित प्रशिक्षण कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, संस्थाका पदाधिकारी एवं सदस्यहरु, अतिथी गण तथा कार्यक्रममा सहभागी सबैलाई संस्थाका अध्यक्ष देबेन्द्र कार्कीले धन्यवाद ज्ञापन गर्नु भएको छ। महिनौंदेखि प्रशिक्षणमा खट्ने प्रशिक्षकहरु र प्रशिक्षण अवधिभर खटिने स्वयंसेवकहरु एवं त्यस्तो प्रशिक्षणमा आफ्ना केटाकेटीलाई ल्याउने पुर्याउने गरेर प्रशिक्षण अभियानलाई सफल बनाउन सघाउने सम्पूर्ण अभिभावकहरुप्रती पनि वहाँले हार्दिक आभार ब्यक्त गर्नु भएको थियो।
कार्यक्रम संचालिका स्वीकृति घिमिरेको कार्यक्रम संचालन गर्ने कला र मिठासयुक्त सम्बोधनलाई दर्शक दिर्घाबाट निकै प्रशंसा गरिएको थियो।





फोटो स्रोत : आयोजक
