CanadaKhabar.com

Monday, December 15, 2025 -

क्यानडा र भारत बीच सम्बन्ध सुधारको नयाँ संकेत:  दुबै देशले गरे नयाँ राजदूतको नियुक्ति 

क्यानडा र भारतले बिहीबार आफ्ना नयाँ उच्चायुक्तहरूको रूपमा अनुभवी कूटनीतिज्ञहरूलाई नियुक्त गरेका छन्।दुवैले एकअर्काको शीर्ष राजदूतहरूलाई निष्कासन गरेको १० महिनापछि कूटनीतिक तनावलाई क्रमशः शान्त पार्न सफल भएका छ्न्।

क्यानेडेली परराष्ट्रमन्त्री अनिता आनन्दले क्रिस्टोफर कुटरलाई भारतकालागि क्यानडाका नयाँ उच्चायुक्त हुने बताएकि छिन्। कुटरले ३५ वर्षसम्म कूटनीतिज्ञको रूपमा सेवा गरिसकेका छन्। उनले इजरायल र दक्षिण अफ्रिकाको पोस्टिङमा काम गर्नुका लगायत साथै २५ वर्षअघि नयाँ दिल्लीमा पनि काम गरिसकेका छन्।

त्यसैगरी भारतको विदेश मन्त्रालयले दिनेश पटनायकलाई अबिलम्ब ओटावामा नियुक्त गर्ने बताएको छ। उनी ३५ वर्षदेखि कूटनीतिज्ञको रुपमा काम गर्दै आएका एक अनुभवी कुटनितीज्ञको रुपमा परिचित छ्न्। उनी हाल स्पेनमा नयाँ दिल्लीको राजदूत र पहिले लन्डनमा उपप्रमुखको रूपमा सेवा गरिसकेका ब्यक्तित्व हुन्।

जुनमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अल्बर्टामा भएको G7 शिखर सम्मेलनमा आमन्त्रित गर्दा दुवै देशले आफ्ना शीर्ष कूटनीतिज्ञहरूलाई पुनर्स्थापित गर्न सहमति जनाएका थिए। त्यस अनुरुप नै अहिले काम अघि बढिरहेको हुनाले अबका दिनमा चिसिएको दुई पक्षिय सम्बन्ध सुमधुर हुँदै जाने विश्वास दुबै पक्षले गरेका छ्न्।