क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा सेप्टेम्बर ६, २०२५ – ग्रेटर टोरोन्टो क्षेत्र (GTA), लण्डन र विन्डसरका १२ टिमहरूको सहभागितामा चौथो ब्रदरहुड सुपर कप यस शनिबार ब्र्याम्टनको भिक्टोरिया पार्क फुटबल स्टेडियममा आयोजना हुँदैछ।
यो प्रतियोगिता ३० वर्षमाथिका खेलाडीहरूको लागि आयोजना गरिएको ठूलो फुटबल/सकर महोत्सव हो। खेलहरू बिहान ९:०० बजेबाट सुरु हुनेछन् भने फाइनल खेल साँझ ७:०० बजे हुनेछ। प्रतियोगिता लिग कम नकआउट (League cum Knockout) प्रारूपमा खेलाइनेछ।
उद्घाटन समारोह बिहान १०:३० बजे हुनेछ जसलाई ब्र्याम्टन नर्थका सांसद रुबि सहोता (Ruby Sahota, MP) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रतियोगिताको विजेताले नगद $5000, ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले नगद $2000 सहित ट्रफी र पदक पाउनेछन्।
आयोजक ब्रदरहुड नेपाली स्पोर्ट्स क्लब, ब्राम्टोनका सचिव खगेन्द्र कंडेलका अनुसार, “यस प्रतियोगिताले नेपाली समुदायबीच भ्रातृत्व र एकता अझ मजबुत बनाउनेछ र खेलकुदलाई अझ उच्च स्तरमा प्रवर्द्धन गर्नेछ।”

