CanadaKhabar.com

Monday, December 15, 2025 -

नेपालको अन्तरिम प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

क्यानडाखबर डेस्क । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । राष्ट्रपतिले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्ति गरेका हुन् । योसँगै सर्वोच्च अदालतको पहिलो प्रधानन्यायाधीश बनेकी कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम गरेकी छन् । 

भदौ २३ गते भएको जेनजी आन्दोलनपछिका घटनाक्रममा उनलाई जेनजी आन्दोलनकारीहरूले भर्चुअल मतदानको परिणामबाट अगाडि सारेको बताइएको थियो।

पिता डिल्लीबहादुर कार्की र अामा लीलादेवी कार्कीकी सुपुत्री कार्की हवाई हाइज्याकर दुर्गा सुवेदीकी पत्नी हुन् । विद्यार्थी जीवनकालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएकी कार्कीले कानुन शिक्षा अध्ययन गरेपश्चात ३१ वर्ष वकालत गरेकी थिइन । २०६२ /६३ सालको जनआन्दोलनपछि सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी कार्की २०७३ असार २७ गते पहिलो महिला प्रधानन्यायाधीशका रुपमा नियुक्त भएकी थिइन । तर प्रधानन्यायाधीशमा नियुक्त भएको एक वर्ष पनि नहुँदै कार्कीले आइजीपी नियुक्ति प्रकरणमा महाअभियोगको सामना गर्नुपरेको थियो ।

जुन कुराको उनको किताब न्यायको प्रारम्भमै उल्लेख गरिएको छ । उनका पति दुर्गा सुवेदी र कांग्रेस सभापति शेरबहादुर देउवाको फोनवार्ताबाट प्रारम्भ भएको महाअभियोगको अध्याय बदलामा प्रधानमन्त्रीको पद कुरेर बसेका देउवाको जेन जी आन्दोलनबाट भएको राजनीतिक तथा भौतिक सेवोटेजको जगमा कार्की प्रधानमन्त्री बनेको घटनालाई संयोगको रुपमा हेरिएको छ । सधै मूलधारका राजनीतिक दलप्रति नकारात्मक टिप्पणी गर्दै आइरहेकी कार्कीले जेन जी आन्दोलनबाट ध्वस्त हुन पुगेको भौतिक संरचनाको पुनर्निर्माण र कांग्रेस, एमालेजस्ता दललाई प्रतिबन्ध लगाउनुपर्छ भन्नेे जेन जीवालालाई मनाएर समयमै चुनाव गराउनुपर्ने अभिभारा कसरी पूरा गर्छिन् , त्यो समयको गर्भमै छ ।

विराटनगरस्थित नेपाली कांग्रेसको कोइराला परिवारसँग निकट रहेको पारिवारिक पृष्ठभूमिमा जन्मिएकी उनले नेपाली कांग्रेसकै तत्कालीन नेता दुर्गा सुवेदीसँग विवाह गरेकी थिइन्। वकिलबाट प्रधानन्यायाधीशसम्मको यात्रामा उनलाई श्रीमानको साथ र इमानदारिताको ठूलो भूमिका रहेको उनी आफैंले बताउँदै आएकी छिन्।