CanadaKhabar.com

Friday, January 30, 2026 -

ओन्टारियोमा २ हप्ता भित्र स्पीड क्यामेराहरू हटाइने

क्यानडाखबर डेस्क ।

अन्टारियोको फोर्ड सरकारले ओन्टारियोभरिका सबै स्वचालित स्पिड क्यामेराहरू हटाउन सबै नगरपालिकाहरूलाई नोभेम्बर १४ सम्मको समयसीमा तोकेको छ।

प्रिमियर डग फोर्डको सरकारले बिहीबार ओन्टारियोभरि स्पीड क्यामेराहरू प्रतिबन्ध लगाउने कानून पारित गरेपछि दुई हप्ता अर्थात् आगामी नोभेम्बर १४ सम्ममा ओन्टारियोभरि स्पीड क्यामेराहरू हटाउन समयसीमा तोकेको छ।

यातायात मन्त्री प्रबमीत सरकारियाका अनुसार प्रान्तले फ्ल्याशिङ लाइटहरू र स्पिड बम्पहरू जस्ता अन्य बैकल्पिक उपायहरूको  प्रतिस्थापना नगरेसम्म अस्थायी “स्लो डाउन” चिन्हहरू प्रयोगमा ल्याउने छ।

आलोचकहरूले फोर्ड सरकारको यो यो कदमलाई हतारमा गरिएको निर्णयको रुपमा ब्याख्या गरेका छ्न्। यस्तो निर्णयबाट विद्यालय नजिकका सडकहरूलाई कम सुरक्षित बनाउन सक्ने उनीहरूको तर्क छ।

फोर्ड सरकार भने स्पिड क्यामेराहरु अनावश्यक  “कर हडप्ने” मेशिन भएको भन्दै आफ्नो निर्णयको बचाउ गरिरहेको छ।