CanadaKhabar.com

Monday, December 15, 2025 -

एक थोपा रगत, अर्को जीवनको आधार- नोभेम्बर १५ मा रक्तदान गरिदै

टोरोन्टो । टोरन्टोको स्कारबोरोमा रक्त तथा प्लाज्मा दान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम “हिमालयन स्ट्राइकर्स स्पोर्ट्स क्लब” र नेप्लिज ब्लड डोनर्स एसोसिएसन (एनबीडिए) क्यानाडाको संयुक्त आयोजनामा सम्पन्न हुने भएको हो ।

कार्यक्रम स्कारबोरोस्थित क्यानेडियन ब्लड सर्भिसेजको डोनर सेन्टर, ८८० वार्डेन एभिन्यु, स्कारबोरो, ओन्टारियोमा बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म सञ्चालन हुनेछ। आयोजकहरूले यो कार्यक्रम नेपाली समुदायमा रक्तदानको महत्वबारे सचेतना फैलाउने उद्देश्यका साथ आयोजना गरिएको बताएका छन्।

एनबीडिए क्यानाडा स्थापनाकालदेखि नै नेपाली समुदायमा रक्तदान संस्कृतिको विकास, जनचेतना अभिवृद्धि र मानवसेवाको भावना विस्तार गर्न सक्रिय रहँदै आएको संस्था हो। यस संस्थाले हालसम्म क्यानडाभर हजारौँ युनिट रगत संकलन गरी सयौँ बिरामीलाई जीवनदान प्रदान गरेको छ। संस्थाले समुदायमा “रक्तदान गरौं, जीवन बचाऔं,” भन्ने नारा फैलाउँदै आएको छ।

यसै क्रममा, हिमालयन स्ट्राइकर्स स्पोर्ट्स क्लबले पनि खेलकुदसँगै सामाजिक उत्तरदायित्वका कार्यमा अग्रसर हुँदै रक्तदान अभियानमा हातेमालो गरेको छ। क्लबका प्रतिनिधिहरूले खेल मैदानमा जुन जोश र एकता देखिन्छ, त्यही भावना अब समाजसेवामा पनि देखाउन चाहेको बताएका छन् ।

आयोजकहरूले सम्पूर्ण नेपाली समुदायलाई यस अभियानमा सहभागी हुन आह्वान गरेका छन्। रक्तदान गर्नु भनेको केवल स्वास्थ्यपूर्ण दायित्व होइन, मानवताको साँचो उदाहरण हो। एक थोपा रगतले कुनै अपरिचित जीवनमा नयाँ आशा जगाउँदछ।

कार्यक्रममा सहभागिता जनाउन वा थप जानकारीका लागि रमेश के. प्रसाई, क्रिस खड्का, अरुण लमिछाने, लिला नाथ पाण्डे र दीपेन राहुतलाई सम्पर्क गर्न सकिने जनाईएको छ।

रगत दिनु नै जीवन बाँड्नु हो, त्यसैले आउनुहोस्, मङ्सिर २९ गते उक्त पुण्यकर्ममा हामी सबै मिलेर जीवनको उपहार बाँडौं।