बिजय अधिकारी – स्कारबरो, क्यानडा
नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसिसीएस) को आयोजनामा तथा नेप्लिज ब्लड डोनर्स एसोसिएसन, एनबीडिए क्यानडा को सहकार्यमा डिसेम्बर २०, शनिवारका दिन, रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। क्यानेडियन ब्लड सर्भिसेसको स्कारबरो डोनर सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा नेप्लिज समुदायबाट ४५ जनाले रक्त तथा प्लाज्मा दान गरी क्यानडामा रहेका नेपाली समुदायमै अहिले सम्मकै उच्च संख्यामा रक्तदान भएको हो।
प्राप्त जानकारी अनुसार, क्यानडामा रहेका नेपाली समुदायको इतिहासमा अहिलेसम्मकै सर्वाधिक संख्यामा भएको यो दान कार्यक्रमलाई एक प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ। मानव जीवन बचाउने पवित्र कार्यमा समुदायको यस प्रकारको सक्रिय सहभागिताले सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धता र एकताको सशक्त सन्देश प्रवाह गरेको छ।

यस ऐतिहासिक सफलताप्रति नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेसका अध्यक्ष सुदर्शन सापकोटाले आफू र सम्पुर्ण एनसिसिएस टिमको तर्फबाट , रक्त तथा प्लाज्मा दान गर्नुहुने सम्पूर्ण दाताहरूप्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्नुभएको छ। साथै यस पुण्यकर्ममा आफ्नो सकृय सहभागिता जनाई यस्ता कार्यक्रममा हौसला र सहयोग गर्नुहुने, नेप्लिज ब्लड डाेनर्स एसोसिएसन, एनविडिए क्यानडका महासचिव दीपेन राहुत क्षेत्री लाई पनि विशेष आभार व्यक्त गरिएको छ। त्यसैगरि, कार्यक्रमको समन्वय, व्यवस्थापन र सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेप्लिज ब्लड डोनर्स एसोसिएसन, एनबीडिए क्यानडा प्रति विशेष धन्यवाद पनि ज्ञापन गरिएको छ। नेप्लिज ब्लड डाेनर्स एसोसिएसन (एनबीडिए) क्यानडा, क्यानाडियन ब्लड सर्भिसेसको राष्ट्रिय साझेदार समेत हो।

त्यसैगरी, कार्यक्रम अवधिभर दाताहरूका लागि भोजन व्यवस्थापन गरी कार्यक्रमलाई थप सहज र सफल बनाउन योगदान पुर्याउनु हुने मो:मो जोन अनि यसका संचालक बाबू गौतम प्रती पनि आयोजक संस्थाले विशेष धन्यवाद प्रकट गरेको छ।
मानव जीवन र सेवाको भावना बोकेको यस प्रकारको कार्यक्रमले नेप्लिज समुदायभित्र मात्र नभई सम्पूर्ण नेपाली समुदायमा सकारात्मक प्रेरणा फैलाउने विश्वास व्यक्त गरिएको छ। आगामी दिनहरूमा अझ व्यापक सहभागितासहित यस्ता जीवनदायी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम पश्चात् सहभागी दाताहरु र स्वयम् सेवकहरुलाई कदर पत्रद्वारा सम्मानित पनि गरिएको थियो।
समुदाय हितका लागि यी र यस्ता कार्यक्रम अझै आयोजना गरिने , नेप्लिज क्यानेडियन कम्युनिटि सर्विसेस, एनसिसिएसका अध्यक्ष सुदर्शन सापकोटाले बताउनुभएको छ।
